बारा । जिल्ला प्रहरी कार्यालय बाराले मंसिर ९ गते विभिन्न स्थानमा गरिएको चेकजाँच तथा अनुगमनका क्रममा रु १ लाख ७७ हजार ९ सय ९० रुपैयाँ बराबरका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । बिल–विजक बिना भारतबाट नेपाल भित्र्याइएका वस्तुहरू बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको हो ।
प्रसौनीबाट ७२ हजारको गेम भेष्ट बरामद
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले बिश्रामपुर गाउँपालिका–३ नहर क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको ७२ पिस गेम भेष्ट बरामद गरेको छ । बरामद भइएका ती भेष्टको अनुमानित मूल्य रु ७२ हजार रहेको प्रहरीले जनाएको छ ।
अमलेखगञ्जमा EV गाडीबाट २ सय ३३ पिस जगेरी पावडर
इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्र.ना.नि. मदनराज स्याङ्वोको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा–२१ मा चेकजाँच गर्दा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ४१६ नम्बरको EV गाडी रोकेर जाँच गर्दा गाडीको डिक्कीमा लुकाइ–छिपाइ राखिएको ४ बोरा (२ सय ३३ पिस) जगेरी पावडर फेला परेको हो । बरामद सामग्रीको कूल मूल्य रु ५३ हजार ५ सय ९० रहेको बताएको छ ।
मटिअर्वाबाट लसुन, साडी र कस्मेटिक बरामद
प्रहरी चौकी मटिअर्वाबाट प्र.ब.ना.नि. संतोष कुमार खड्काको नेतृत्वमा खटिएको टोलीले कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकमा चेकजाँचका क्रममा भारतबाट मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको लसुन, साडी, सजावटी सामग्री र विभिन्न प्रकारका कस्मेटिक नियन्त्रणमा लिएको छ । ती सामग्रीहरूको अनुमानित मूल्य रु ५२ हजार ४ सय बराबर रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै सामग्रीहरू भन्सार ऐनअनुसार कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।






















Discussion about this post