नेपाल वन प्राविधिक दिवसको अवसरमा वृक्षरोपण  र ‘वृक्षमानव’ : शर्मालाई सम्मान

391
SHARES
514
VIEWS

बारा । जंगल, बारी, पर्खाल, घरछेउ… कतै पनि हेर्न नछुटाउने एउटा जोडी आँखा जहाँ स–साना उम्रिरहेका तर संरक्षणको अभावमा मर्न तयार भएका विरुवाहरू लक्षित हुन्छन् । ती विरुवालाई जोगाउन सकियो भने एउटा जंगल बच्छ, वातावरण सास फेर्न पाउँछ भन्ने विश्वास बोकेर धनुषाका सुरेश शर्मा वर्षौंयता मौन अभियानमा जुटिरहेका छन् । समाजले उनलाई ‘वृक्षमानव’ भनेर बोलाउन थालेको कारण यही हो ।

0-0x0-0-0#

विहिवार नेपाल वन प्राविधिक संघ मधेस प्रदेशले निजगढ–२ को वनदेवी सामुदायिक वन क्षेत्रमा शर्मालाई सम्मान गर्दा यो मौन यात्राले पहिलोपटक संस्थागत कदर पायो। संघ स्थापना दिवसकै अवसरमा आयोजित ‘पुनः वृक्षारोपण’ कार्यक्रममा प्रदेश अध्यक्ष विन्देश्वर पटेलले शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गर्दै ‘अपहेलित विरुवा बचाउने अभियान’लाई राष्ट्रिय स्तरमा चिनाउनुपर्ने धारणा राखे ।

अपहेलित विरुवाबाट सुरु हुने हरियाली:

शर्माको काम सरल देखिए पनि गहिरो अर्थ बोकेको छ । घरको छानोमा उम्रिएको एक थानी बोट होस्, पर्खाल चिरिएको ठाउँमा पलाएको थोरै हरियो जीवन होस्, वा सडकछेउको धुलोमा बाँच्न संघर्ष गरिरहेको बिरुवा शर्माको नजरमा ती सबै ‘जोगाउन योग्य’ हुन्छन् ।

0-0x0-0-0#

शर्मा ती विरुवालाई सावधानीपूर्वक उखेल्छन्, घरमा हुर्काउँछन्, अनि जब तिनले बाँच्ने शक्ति पाउँछन्, वन क्षेत्र वा सुरक्षित जमिनमा रोपिदिन्छन् ।
शर्मा भन्छन्, “जंगलसँग मनले गर्ने सम्बन्ध नै संरक्षणको पहिलो पाठ हो।”

समाजले नदेखेको योगदान:

वन संरक्षण भन्नासाथ धेरैले सरकारी कार्यक्रम, ठूलो योजना वा सामूहिक अभियान सम्झन्छन् तर एक व्यक्तिले निरन्तरता दिएर गरेका स–साना प्रयासले कति ठूलो प्रभाव पार्छ भन्ने शर्माको कामले देखाएको छ ।

0-0x0-0-0#

उनको हातबाट बाँचेर पुनः रोपिएका सयौँ बिरुवाले अहिले वन क्षेत्रमा झाडी, झाडीबाट बोट, अनि बोटबाट जंगल बन्ने यात्रामा योगदान दिँदैछन् ।
उनको काम न फेसबुक स्टाटस हो, न प्रचारको मंच । मौन तर स्थिर कदमले वन संरक्षणमा जनस्तरबाट पनि चमत्कार सम्भव छ भन्ने सन्देश दिन्छ ।

संघको कदर : समाजका लागि सन्देश:

कार्यक्रममा अध्यक्ष पटेलले भने,
“वनका लागि काम गर्नेहरूलाई कदर गर्ने संस्कार विकसित भए मात्र संरक्षणको चेतना व्यापक हुन्छ ।”
उनले मधेसको वातावरण संरक्षण नेपाल–भारत संयुक्त  प्रयासबिना सम्भव नहुने बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंह, पर्सा प्रमुख मन्जुर अहमद, रौतहट प्रमुख हेमन्त साह, भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुखहरू, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि तथा विभिन्न वन अधिकृतको उपस्थिति रहेको थियो ।

मौन सेवा, दीर्घ प्रभाव:

सुरेश शर्माले सुरु गरेको अभियानलाई ठूलो नाम छैन, न ठूलो बजेट । तर हरेक विरुवासँगको सम्बन्ध बिस्तारै जंगल बन्न सक्छ भन्ने विश्वासमा उनी निरन्तर छन् ।

आज सम्मान त प्राप्त भयो, तर यो सम्मान व्यक्तिको लागि मात्र होइन समाजका लागि एक सन्देश हो
वातावरण संरक्षण ठूलो नारा होइन, साना–साना कामहरूको निरन्तरता हो । र यदि ‘वृक्षमानव’ जस्तै हातहरूको संख्या बढ्यो भने मधेस मात्र होइन, देशभरिका जंगलहरू बलिया बन्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित