निजगढ । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ जनकपुरतर्फ जाँदै गर्दा आज विहिवार निजगढमा स्थानीय जनप्रतिनिधि र समाजसेवीहरुसँग छोटो भेटघाट गरेको छ । भेटका क्रममा उनीसमक्ष विद्युत्, पूर्वाधार र नदीजन्य क्षति न्यूनीकरणसम्बन्धी महत्वपूर्ण मागहरू प्रस्तुत गरियो ।
निजगढका स्थानीय टोलीले निजगढ तथा आसपासका क्षेत्रमा देखिएका विद्युत् अव्यवस्था, तार, पोल अभाव र संरचना विस्तारका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउँदै तत्कालीन रूपमा आवश्यक योजना समावेश गर्न आग्रह गरेका थिए ।
त्यस्तै, निजगढ नगरपालिका–३ हुँदै बकैया गाउँपालिकालाई जोड्ने धनसार खोलामा पक्कीपुल निर्माण, निजगढ वडा नम्बर ११ र १२ जोड्ने पक्कीपुल, साथै बकैया खोला मोहोरिदेखि नदीकट्टा क्षेत्रसम्म स्थायी तटबन्ध निर्माणलाई आगामी योजनामा समावेश गर्न प्रस्ताव गरिएको थियो ।
मन्त्री घिसिङले स्थानीय मागहरू गम्भीरतापूर्वक सुनेपछि अन्तरिम सरकारको सम्भाव्यताभित्र परेका योजनाहरू समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । उनले केही समयपछि काठमाडौंमा विस्तृत छलफल गर्दै आवश्यक पूर्वाधार योजनाहरूलाई अघि बढाउन पहल गरिने आश्वासन पनि दिएका थिए ।
भेटमा सहभागी स्थानीय प्रतिनिधि, नागरिक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै, कार्यक्रमको स्थल सहजीकरणमा सहयोग पुर्याएको गौतम खाजाघर तथा गौतम कोल्ड स्टोरका सञ्चालक रुपक गौतमप्रति विशेष आभार प्रकट गरिएको छ ।
सामान्य भेटघाटका बीच स्थानीय पूर्वाधारका महत्वपूर्ण मुद्दा उठान भएको यो संवादलाई नागरिकले सकारात्मक रूपमा लिएका छन् । भेटघाटमा निजगढ वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठ, समाजसेवी संतोष दंगाललगायतका सहभागी रहेका थिए ।






















Discussion about this post