प्रसौनी । प्रसौनी गाउँपालिकाले आइतबार (मिति कात्तिक ३० गते) ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने गहुँका बीउ औपचारिक कार्यक्रममार्फत वितरण गरेको छ । एन.एल. र विजय जातका उन्नत बीउ गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले स्थानीय किसानलाई हस्तान्तरण गर्दै वितरण कार्यक्रमको उद्घाटन गरेका हो ।
बीउ वितरण कार्यक्रममा बोल्दै अध्यक्ष जैसवालले किसानलाई प्रविधिमैत्री कृषि तथा उन्नत जातका बीउ–बिजन प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याइएको बताए । ‘‘उपयुक्त बीउको अभावले उत्पादनमा प्रभाव पारिरहँदा गाउँपालिकाले राहतस्वरूप ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइरहेको छ,’’ उनले भने, ‘‘योजनाबाट किसानले प्रत्यक्ष लाभ लिई उत्पादन वृद्धि गर्न मद्दत पुग्नेछ ।’’
गाउँपालिकाले यस वर्ष बिउका लागि निवेदन दिएका किसानहरूको विवरण संकलन गरी क्षमता अनुसार बीउ व्यवस्थापन गरेको छ । कृषकको माग र उपजका आधारमा एन.एल. तथा विजय जातका गहुँका बिउ वितरण गरिएको कृषि शाखाले जनाएको छ । कार्यक्रमलाई किसानमैत्री बनाउन वितरण प्रक्रिया वडास्तरमै सरल बनाइएको गाउँपालिकाले बताएको छ ।
यसैगरी, बिउका लागि निवेदन दिएका सबै किसानलाई तोकिएको समयमा सम्बन्धित वितरण केन्द्रमा उपस्थित भएर आफ्नो बीउ बुझेर लैजान गाउँपालिकाले आग्रह गरेको छ । समयमै बीउ नलँदा खेती चक्र प्रभावित हुन सक्ने भन्दै गाउँपालिकाले कृषकलाई सक्रिय सहभागिताको आग्रहसमेत गरेको छ ।
गाउँपालिकाले कृषकलाई बीउसँगै खेती सम्बन्धी आवश्यक प्राविधिक सल्लाह र सहजीकरण पनि उपलब्ध गराउने जनाएको छ । स्थानीय उत्पादन वृद्धि, खाद्यान्न सुरक्षामा आत्मनिर्भरता र किसानको आम्दानी बढाउने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता योजनालाई निरन्तरता दिने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ ।






















Discussion about this post