विजेन्द्र चौधरी/जनकपुरधाम । मधेश प्रदेशमा राजनीतिक अस्थिरता कायम रहेको अवस्थामा प्रदेशका विभिन्न दलहरूले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख कृष्ण प्रसाद यादवलाई औपचारिक रुपमा अनुरोध गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा १६८(२) अनुसार गत २०८२/०७/२२ मा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले विश्वासको मतका लागि समय माग गरेका थिए । तर, प्रक्रिया अगाडि बढ्नु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको तथा सभामुखले “मुख्यमन्त्रीको राजीनामा आइसकेकोले मत विभाजनको प्रक्रिया आवश्यक छैन” भनी प्रदेश सभा स्थगन गरेपछि विश्वासको मत परीक्षण हुन सकेको थिएन ।
यस परिस्थितिमा संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अगाडि बढाउनु पर्ने भएकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, ने.क.पा.(एस), र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताहरूले सहमति जनाउँदै प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि आग्रह गरेका हुन् ।
दलहरूले पठाएको पत्रमा संसदीय दल र सदस्य संख्या यसप्रकार उल्लेख गरिएको छ । नेपाली कांग्रेस – २२ ।नेकपा माओवादी केन्द्र – ९ । जसपा नेपाल – १८ । लोसपा नेपाल – ८ । जनमत पार्टी – १३ । ने.क.पा.(एस) – ७ । नागरिक उन्मुक्ति पार्टी – १ । पत्रमा प्रदेश प्रमुखको ध्यानाकर्षण गर्दै संविधानको मर्म र लोकतन्त्र, संघीयताको रक्षा गर्दै नयाँ सरकार गठनमा दलहरूको सहमति भएको पनि उल्लेख गरिएको छ ।






















Discussion about this post