निजगढ (बारा) । निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारण सभा (रजत वर्ष)को अवसरमा शुक्रबार नगरस्तरीय हाजिरीजवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाको सभाहलमा सम्पन्न प्रतियोगितामा निजगढ–७ स्थित विद्यासागर ई. बोडिङ स्कुलले तीनै विधामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो ।
वक्तृत्वकला प्रतियोगितामा विद्यासागरकी सुश्रीका अधिकारी प्रथम, निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका गौतमकुमार साह दोस्रो र निजगढ–७ योजनास्थित श्री नेत्रोदय माध्यमिक विद्यालयका विजय विक तेस्रो भए । निजगढ–८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका राजकिशोर लामिछाने सान्त्वना भए ।
हाजिरीजवाफ प्रतियोगितामा विद्यासागर ई. बोडिङ स्कुलले पुनः प्रथम स्थान प्राप्त गर्दा निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय दोस्रो र निजगढ–७ योजनास्थित श्री नेत्रोदय माध्यमिक विद्यालय तेस्रो भए ।
त्यस्तै चित्रकला प्रतियोगितामा विद्यासागर ई. बोडिङ स्कुलका एन्जल श्रेष्ठ प्रथम, निजगढ–९ स्थित जनज्योती आधारभूत विद्यालयकी प्रनिका मोक्तान दोस्रो र निजगढ–८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयकी मुस्कान यादव तेस्रो भइन् ।
त्यस्तै, सान्त्वना स्थानमा निजगढ–६ श्री गौरीशंकर माध्यमिक विद्यालयकी स्वेता वाईवा, निजगढ–५ जनजागृती विद्यालयका मोहन रुम्बा, निजगढ–७ सत्यश्वर शिवशक्ति विद्यालयकी संगिता साह, र निजगढ–११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका सुलभ कुमार परे ।
विजयी विद्यार्थी र विद्यालय प्रतिनिधिहरूलाई अविर र खादासहित सम्मान गरिएको थियो । निर्णायक मण्डलमा गौरीशंकर क्याम्पसका गोविन्द अधिकारी, निजगढ नगरपालिकाका प्रदिप ढकाल र शिक्षक जीवनकुमार काफ्ले रहेका थिए ।
कार्यक्रमको उद्घाटन सहकारी संस्थाका अध्यक्ष भोला प्रसाद गौतमले पानसमा बत्ती बालेर गरेका थिए ।
उद्घाटन समारोहमा सहकारीका उपाध्यक्ष हिरामैया पोखरेल, सचिव बोधनाथ चौलागाईं, लेखा संयोजक रुद्रप्रसाद धिताल, सञ्चालक सिता रिसाल, मञ्जु कार्की, सुदिप तिमल्सिना, सहायक व्यवस्थापक बिमल अधिकारी, र शिक्षक गणेश पण्डित, प्रकाश अधिकारी, भोला चौलागाईंलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता अध्यक्ष गौतम रहेको थियो भने सहजीकरण सचिव बोधनाथ चौलागाईं, सदस्य महेश्वर अधिकारी र शिक्षक प्रकाश अधिकारीले गरेका थिए । त्यस्तै प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई कार्तिक २४ गते सोमबार हुने साधारण सभा विशेष समारोहमा नगद तथा सम्मान–पत्रसहित पुरस्कृत गरिने छ । त्यस्तैगरी संस्थाले आँखा शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ ।
कार्तिक २२ गते शनिबार बिद्यासागर इङ्लिस बोर्डिङ स्कुलको भवनमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुनेछ भने कार्तिक २३ गते आइतबार निजगढ शहीदचोकमा रक्तदान कार्यक्रम तथा स्थानीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ ।
साधारण सभा समारोहमा सहकारीले विभिन्न विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मान समेत गर्नेछ । त्यसैगरि संस्थाले भाग्यशाली चिट्ठा कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।






















Discussion about this post