सिङ्गौलको गुम्बा मेलामा दीपकको धुन, बाराको रात बन्यो रङ्गीन

391
SHARES
514
VIEWS

उमेश घलान/बारा । बाराको उत्तरी पूर्वी भेग, निजगढ–३ स्थित सिङ्गौल । केही दिनयता यहाँको माहोल अलि अलग छ । टाँसी धार्गेलिङ गुम्बा मेला २०२५ ले सिङ्गौलको सांस्कृतिक परिवेशमा नयाँ रौनकता भरेको छ । खासगरी मंगलबारको साँझ त झनै स्मरणीय बन्यो जब गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड स्टेजमा उत्रिए ।

पाँच दिने मेलाको तेस्रो दिन । साँझदेखि नै भीड बाक्लिँदै गएको थियो । स्थानीयदेखि टाढाटाढाका युवायुवती र परिवारसहितका दर्शक, सबैमा एउटै उत्साह आफ्ना मनपर्ने कलाकारलाई लाइभ हेर्ने र नाच्ने । सायद मेलाको इतिहासमै यति धेरै दर्शक शायद पहिलोपटक भेला भएका थिए ।

साँझको झुल्कोसँगै स्टेजमा दीपकको आगमन भयो । ‘मायाको डोरी’ ले सुरुवात भयो त्यसपछि ‘ओ अमिरा’, ‘काली काली’ हुँदै ‘कसले देला धन’। करिब डेढ दर्जन पुराना नयाँ गीत प्रस्तुत गर्दै दीपक र उनको टोलीले करिब २ घण्टा दर्शकलाई मन्त्रमुग्ध बनाए । सुरुसुरुमा सहज तरिकाले गाएको गीत, पछिल्लो तिर दर्शकसँगै ताल मिलाउँदै, नृत्यसँगै झुम्दै अघि बढेको प्रस्तुति निकै प्रभावशाली थियो ।

बाराका नेपाली तामाङ भाषी क्षेत्रमा पहिलो पटक औपचारिक प्रस्तुति दिएका गायक बज्राचार्यले भने, “यहाँको माया र उत्साह असाध्यै प्रबल रहेछ । यो मेरो लागि अविस्मरणीय रह्यो।” दर्शकको प्रतिक्रियाबाट पनि त्यो स्पष्ट हुन्थ्यो । किशोरदेखि वृद्धसम्म धेरैजसोको हातमा मोबाइल, दीपकका तस्बिर र भिडियो क्याप्चर गर्न व्यस्त थिए ।

मेला समितिका अध्यक्षले भने, “हामी हरेक वर्ष मेलालाई नयाँ र भव्य बनाउन खोजिरहेका छौँ । यसपाली दीपकजीलाई बोलाउँदा यो सांगीतिक क्षण यहाँको सांस्कृतिक गाथामा जोडिएको छ ।”

धर्म, संस्कृति अनि आधुनिक संगीतको संगम भएको जस्तो अनुभूति दिलाएको ‘गुम्बा मेला २०२५’ को यो दृश्य, मेलामा उपस्थित धेरैका लागि साँच्चिकै विशेष बन्न पुग्यो । संगीत, नाच, हाँसो र एकताको ऊर्जा सबैको मिश्रणले सिङ्गौलको त्यो रातलाई इतिहासमा कोरिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित