बारा । बाराको आदर्श कोतवाल गाउँपालिकाका सामाजिक अगुवा प्रदीप कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयवासी र सरोकारवालाहरूले तीव्र विरोध जनाएका छन् ।
गाउँपालिका वडा नम्बर १ च्युटाहा निवासी कुशवाहालाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले वार्ताको लागि बोलाएर पक्राउ गरेको बताइएको छ । उक्त घटनापछि सामाजिक सञ्जालमा उनको रिहाइको माग गर्दै विरोधका आवाजहरू उठ्न थालेका छन् ।
स्थानीय समाजसेवी र नागरिकहरूका अनुसार कुशवाहालाई गाउँपालिका अध्यक्ष जवाहर साहको दबाबमा पक्राउ गरिएको हो । उनीहरूले यस्तो कदम लोकतान्त्रिक अभ्यासविरुद्धको कार्य भएको दाबी गर्दै बिनासर्त तत्काल रिहाइको माग गरेका छन्। माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गाउँपालिकामा हालै भएको आगजनी घटनाको छानबिनका क्रममा कुशवाहालाई नियन्त्रणमा लिइएको हो ।
गाउँपालिकामा भएको अनियमितताको विरोध गर्दै कुशवाहासहितका स्थानीय युवाहरूले केही दिनअघि गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
कुशवाहाको गिरफ्तारीपछि गाउँमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। स्थानीयवासीहरूले प्रहरी प्रशासनलाई न्यायिक निष्पक्षता कायम गर्न र राजनीतिक दबाबमा नपरी सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।






















Discussion about this post