बारा । नेपाल प्रेस युनियन, बारा शाखाले नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदीको पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ । युनियनले महासंघको गरिमा र पत्रकारिताको पेशागत मर्यादामा आँच पुर्याउने गरी सुवेदीले विभिन्न कदम चालेको युनियनले दाबी गरेको छ ।
मंगलबार जारी विज्ञप्तिमा प्रेस युनियन बाराले पत्रकार महासंघ पत्रकारहरूको साझा छाता संगठन भएको भन्दै संस्थाको उद्देश्य, सिद्धान्त र कार्यविधिविपरीत काम भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष सुवेदीले पत्रकारिता क्षेत्रको पवित्र उद्देश्य र पेशागत मानमर्यादामा आघात पुर्याउने गरी संगठनभित्र विभाजन ल्याउने, व्यक्तिगत स्वार्थमा आधारित निर्णय लिने र पत्रकारहरूलाई सामाजिक रूपमा बदनाम गर्ने काम गर्दै आएका छन्।” बिज्ञप्तीमा उल्लेख छ ।
युनियनले महासंघको नाममा मनपरी निर्णय गर्दै पत्रकारहरूको स्वाभिमानमा चोट पुर्याउने र जिल्ला तहमा समेत द्वन्द्व निम्त्याउने प्रयास भइरहेको आरोप लगाएको छ । प्रेस युनियनका अनुसार, अध्यक्ष सुवेदीले व्यक्तिगत र आर्थिक स्वार्थका लागि संगठनको नाम दुरुपयोग गरेको र पत्रकारबीच अविश्वास फैलाउने गतिविधि चलाएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “महासंघ जस्तो गौरवशाली संस्थाको अध्यक्ष पदमा रही संस्थाको विधानविपरीत निर्णय गर्ने, व्यक्तिगत चरित्र हत्यामा उत्रने र पत्रकारहरूलाई अपमानित पार्ने कार्य अस्वीकार्य छ।”
नेपाल प्रेस युनियन, बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा महासंघ अध्यक्ष सुवेदीले अघि बढाएको पछिल्लो कार्यप्रणालीले संगठनको साखमा प्रश्न उठेको उल्लेख गरिएको छ । युनियनले महासंघ नेतृत्वलाई पत्रकारिता पेशाको आचारसंहिता र संगठनको सिद्धान्तमा फर्किन आग्रह गरेको छ ।
यादवले विज्ञप्तिमा भनेका छन्, “पत्रकार महासंघको जिम्मेवारी पत्रकारको हक, अधिकार र स्वतन्त्रता जोगाउनु हो, व्यक्तिगत स्वार्थ पूरा गर्नु होइन । पत्रकारबीच कलह र अविश्वास फैलाउने कुनै पनि गतिविधि प्रेस युनियनलाई अस्वीकार्य छ ।”
प्रेस युनियन बाराले महासंघका नेतृत्वलाई संगठनको एकता, पारदर्शिता र मर्यादा कायम राख्दै पत्रकारको हकहितको पक्षमा काम गर्न आग्रह समेत गरेको छ ।






















Discussion about this post