महेन्द्र सहनी करैयामाई (बारा) । छठ पर्वको अवसर पारेर करैयामाई गाउँपालिका–७, पिपरामा पहिलो पटक छठ कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम आगामी छठ पर्वका अवसरमा धार्मिक श्रद्धा र मनोरञ्जनको संगम बन्ने आयोजकले जनाएका छन् ।
श्री छठी माई पूजा व्यवस्थापन समिति र श्री सृजनशील युवा क्लब, करैयामाई–७, पिपराको संयुक्त आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन् । छठी माईको भजनदेखि स्थानीय भाषाको गित र आधुनिक नृत्यसम्मका विविध कार्यक्रम प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सृजनशील युवा क्लबका एक सदस्यले बताए । उनका अनुसार “छठ पर्व केवल धार्मिक विधि होइन, यो हाम्रो सामूहिक सांस्कृतिक चेतना र आस्थाको प्रतीक हो ।”
छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने उद्देश्यले आयोजना गरिएको कन्सर्टमा स्थानीय युवायुवती, महिला समूह र विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहनेछ । यसले करैयामाई क्षेत्रको सांस्कृतिक जीवन्तता झल्काउने विश्वास आयोजकको छ ।
स्थानीय कलाकारसँगै राष्ट्रिय स्तरका गायक–गायिका र नृत्य कलाकारको पनि आकर्षक प्रस्तुति रहनेछ । मञ्च सजावटदेखि सुरक्षा व्यवस्थासम्मका तयारीहरू पूरा भएको आयोजक समितिले जनाएको छ ।
छठ पर्वलाई धार्मिक श्रद्धा र मनोरञ्जनको उत्सवका रूपमा स्थापित गर्न लागिएको यो पहिलो कन्सर्टले स्थानीय पर्यटन, युवा सहभागिता र सांस्कृतिक पहिचान प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।























Discussion about this post