निजगढ । लगातारको अविरल वर्षापछि बकैया खोलामा आएको बाढीले निजगढ नगरपालिकाले निर्माण गरेको च्यानलाइज ड्याम बगाएको छ ।
खोलाको तीव्र बहावले बकैयापुल मुनि दक्षिणतर्फ रहेको ड्यामको ठूलो भाग बगाएपछि नदीको मुख्य धार पूर्व किनारातर्फ सरेको र आर्यघाट क्षेत्र कटानको उच्च जोखिममा परेको नगर इन्जिनियरले बताएका छन् ।
नगर इन्जिनियर नविन खनालका अनुसार, “ड्यामको दक्षिणी भाग बगाएपछि नदीको धार ठोक्किएर आर्यघाट क्षेत्रमा कटान सुरु भएको छ । यदि तत्काल संरक्षण कार्य नभए, आर्यघाट र आसपासका बस्तीहरू प्रत्यक्ष जोखिममा पर्न सक्छन् ।”
तीन महिनाअघि मात्र नगरपालिकाले सो क्षेत्रमा नदी नियन्त्रणका लागि स्पर र तारजालीसहितको तटबन्ध निर्माण गरेको थियो । च्यानलाइज ड्याममार्फत नदीलाई नियन्त्रणमा राख्ने प्रयास गरिए पनि हालको बाढीले संरचनाको ठूलो भाग नष्ट गरेको खनालले बताए ।
अघिल्ला वर्षहरूमा बकैयाखोलाको बाढी सिधै आर्यघाट क्षेत्रमा ठोक्किने गरेको भए पनि, यसपटक ड्याम र स्परको कारण धार केही दक्षिणतर्फ मोडिएको थियो । तर, पछिल्ला वर्षातपछिको बाढीले ड्यामकै संरचना भत्काउँदै नदी पुनः पुरानो धारतर्फ फर्कन थालेको देखिएको छ ।
स्थानीयवासी आर्यबहादुर तामाङ भन्छन्, “नगरपालिकाले बनाएको तटबन्धले केही समय राहत दियो, तर अहिले फेरि खोलाको धार खेतबारीतिर छिरेको छ । यसरी कटान बढे यो क्षेत्रका घर र शवदाह स्थलसमेत जोखिममा पर्नेछन् ।”
निजगढ नगरपालिकाले बाढीपछि क्षतिको प्रारम्भिक अनुगमन सुरु गरेको र तत्काल सम्भावित कटान क्षेत्रलाई रोकथाम गर्न ग्याबियन तटबन्ध र अस्थायी स्पर निर्माणको तयारी भइरहेको जनाएको छ ।
नगर कार्यालय स्रोतका अनुसार, बकैयाखोलाको च्यानलाइज परियोजना नगरपालिकाको मुख्य प्राथमिकतामा रहेको र स्थायी तटबन्ध निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ ।
बकैयाखोला बाराको दक्षिणी भूभाग हुँदै बग्ने मुख्य नदीमध्ये एक हो । हरेक वर्षको मनसुनमा यसले निजगढ नगरपालिका–९, १०, ११ र १३ का क्षेत्रहरूमा बाढी र कटानको समस्या निम्त्याउँदै आएको छ । विशेषगरी आर्यघाट क्षेत्र हरेक वर्ष जोखिमको घेरामा पर्छ ।






















Discussion about this post