बारा । जिल्ला तेक्वान्दो संघ बाराको कार्यसमितिको सचिव पदमा दीपक कुमार खड्का मनोनीत भएका छन् । नव निर्वाचित अध्यक्ष चित्र बहादुर लामाको हस्ताक्षरमा शनिवार प्रकाशित गरेको सूचनामार्फत खड्कालाई सचिव पदको जिम्मेवारी दिइएको हो ।
खेलकुद क्षेत्रमा सक्रिय युवा खड्का संघमा निर्वाचित सदस्यसमेत हुन् । उनले १३ मत ल्याएर सदस्यमा विजयी भएपछि कार्यसमितिको पहिलो बैठकले उनलाई सचिवको जिम्मेवारी सुम्पिएको हो ।
संघको निर्वाचनमा अध्यक्ष चित्र बहादुर लामा सर्वसम्मत निर्वाचित भएका थिए भने उपाध्यक्षमा संजय कुमार साह ९ मतसहित, कोषाध्यक्षमा अमित कुमार सिंह ११ मतसहित विजयी भएका थिए । सदस्यतर्फ सुमन श्रेष्ठ र शंकर रखवालले १५–१५ मत ल्याए भने राजकुमार श्रेष्ठ र खड्काले समान १३–१३ मत ल्याएर निर्वाचित भएका थिए ।
निर्वाचन समितिका अधिकृत हेमलाल श्रेष्ठ, मानबहादुर लामा र प्रमुख निर्वाचन अधिकृत मुक्तिप्रसाद यादवले संयुक्त रूपमा परिणाम शुक्रबार नै सार्वजनिक गरेका थिए ।
नयाँ सचिव बनेका खड्काले आफ्नो कार्यकालमा जिल्लामा तेक्वान्दो खेलको विकास, युवा सहभागिता विस्तार र खेलाडीसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका सदस्यहरूले पनि उनको नेतृत्व क्षमतामा विश्वास गरेर संघलाई अझ सबल र प्रभावकारी बनाउने अपेक्षा राखेका छन् ।






















Discussion about this post