निजगढ । तिलगंगा आँखा अस्पतालले असोज १ देखि ३ गतेसम्म बाराको निजगढमा सञ्चालन गरेको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिबिर सम्पन्न भएको छ। शिबिरमार्फत बारा र रौतहटका विभिन्न गाउँबाट आएका ३ सय ४५ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
डा. सागर रुइतको नेतृत्वमा ५ विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो। दृष्टि धमिलो भएका र अन्धोपनको अवस्थामा पुगेकासम्मका बिरामीले शिबिरबाट प्रत्यक्ष लाभ पाएका छन् ।
अपरेशनपछि अनुभव बाँड्दै महोत्तरीका महेन्द्रकुमार सोनीले भने, “धेरै समयदेखि अँध्यारोमा बाँचेजस्तो लाग्थ्यो। अब फेरि स्पष्ट देख्न पाउँदा नयाँ जीवन पाएजस्तो महसुस भएको छ ।”
शिबिर अवधिभर बिरामीलाई पौष्टिक खाना (जाउलो) प्रभु बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको थियो। यस्तै, ‘राष्ट्रका लागि योगदान संस्था’का स्वयंसेवकले शिबिरभर सहयोग पुर्याएका थिए ।
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालका इन्चार्ज दीपक सुवेदीका अनुसार मधेस प्रदेशमा मोतिबिन्दुका बिरामी धेरै भए पनि आर्थिक अभावका कारण उपचार गर्न नसक्ने समस्या छ । “यस्तो अवस्थालाई मध्यनजर गर्दै अस्पतालले नियमित रूपमा निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन गर्दै आएको छ,” सुवेदीले भने ।
यस शिबिरले आँखाको उज्यालो हराइसकेका सयौँलाई फेरि उज्यालोमा ल्याएको आयोजकको दाबी छ ।




















Discussion about this post