संविधान दिवसमा धारापानी सामुदायिक वन र वडा कार्यालयद्वारा सडक सरसफाइ

400
SHARES
526
VIEWS

निजगढ । संविधान दिवसको अवसरमा बाराको निजगढ-१३ क्षेत्रमा सामुदायिक वन समूह र स्थानीय निकायले संयुक्त रूपमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको धारापानी सामुदायिक वन उपभोक्ता समूह र निजगढ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयले संयुक्त पहलमा शुक्रबार बिहान सडक छेउछाउमा व्यापक सरसफाइ अभियान चलाएका हुन् ।

कार्यक्रमअन्तर्गत सडकदेखि करिब १० मिटर वरपर रहेका बाक्लो झाडी फाँडेर सफा गरिएको छ । स्थानीयवासीका अनुसार हालैको केही महिनायता सो क्षेत्रमा बाघको गतिविधि तीव्र भएको छ । दिनदहाडै मुख्य सडकमा समेत बाघ देखापरेपछि विद्यार्थीहरू विद्यालय जाने बाटोमा र सर्वसाधारण बजार आउजाउमा असुरक्षित महसुस गर्न थालेका थिए । यही समस्यालाई मध्यनजर गर्दै सुरक्षित वातावरण निर्माणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको आयोजकको जनाएको छ ।

कार्यक्रममा जुनतारा युवा क्लब मानेचोक युवा क्लब, फ्याफुल्ला युवा क्लब र प्रगतिशील टोलविकास बेशीगाउँ र धारापानी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले संविधान दिवसजस्तो विशेष दिनमा स्थानीय समुदायको सहभागिता लिएर गरिएको सरसफाइ कार्यले वन र मानवबीच बढ्दो द्वन्द्वलाई केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास गरेको छ । “झाडी सफाइले सडक वरपर स्पष्ट देखिने भएकाले बाघजस्ता वन्यजन्तु मानिसतिर आउन सहज हुँदैन, यसले विद्यालय जाने बालबालिका र सर्वसाधारणलाई राहत पुग्छ,” भन्ने समूहका अपेक्षा रहेको छ ।

यसैबीच निजगढ वडा नम्बर १३ कै शिवशक्तेश्वर सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्नो क्षेत्रमा पर्ने मुख्य सडक छेउमा सरसफाइ गरेको छ । उनीहरूले सडक छेउका बाक्ला झाडी फाँडेर सडकलाई खुला र सुरक्षित बनाउने कार्यमा जोड दिएका छन् । उनीहरुका अनुसार वन्यजन्तु नियन्त्रणका लागि सामुदायिक तहमा गरिएको यस्तो प्रयास महत्त्वपूर्ण छ र यसले दीर्घकालीन रुपमा पनि वन र मानव सम्बन्ध सहज बनाउन मद्दत गर्नेछ ।

सरसफाइ अभियानमा स्थानीयवासी, विद्यार्थी, वडा अध्यक्ष, सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम स्थानीयवासी, विद्यार्थी, सामुदायिक वन अध्यक्षको अगुवा र वडा अध्यक्ष स्वयंको सक्रियतामा सडक किनार र करिब १० मिटर वरपरका बाक्ला झाडी हटाइयो । यसले विद्यालय जाने विद्यार्थीदेखि लिएर बजार आवतजावत गर्ने सर्वसाधारणलाई राहत मिल्ने अपेक्षा गरिएको छ । तर प्रश्न उठ्छ यति महत्वपूर्ण र सामुदायिक सरोकारको काममा जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरू किन अनुपस्थित भए?

जनताको नाममा मत बटुल्ने, चुनावी बेला गाउँगाउँमा भाषण गर्ने, कार्यक्रमका मञ्च कब्जा गर्ने नेताहरू यस्ता व्यावहारिक कार्यमा किन मुख चुम्बन गरेर टाढा बस्छन्? सरसफाइ, सडक सुरक्षा, बाघको बढ्दो आतंक नियन्त्रण जस्ता जीवनसँग प्रत्यक्ष सरोकार भएका विषयमा राजनीतिक दल र तिनका प्रतिनिधिहरूको अनुपस्थिति निराशाजनक मात्र होइन, उदासीनताको संकेत पनि हो ।

स्थानीय बासिन्दा डर त्रासबीच बाँचिरहेका छन् । विद्यालय जाने नानी–बाबु, खेत–बारी जाने किसान, बजार आवतजावत गर्ने सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालयका वडा अध्यक्ष अगाडि सरे पनि जनप्रतिनिधि भने बेपर्वाह बनेका छन् । यही हो विडम्बना चुनावी घोषणापत्रमा जनताको सुरक्षाको वाचा गर्ने तर व्यवहारमा जनताको दुःख–चिन्ताप्रति अनुत्तरदायी रहने ।

यस घटनाले फेरि एकपटक देखाएको छ कि जनप्रतिनिधि र दलका अगुवाहरू सामुदायिक गतिविधि र जनजीवनसँग प्रत्यक्ष जोडिएका साना–साना कामलाई गम्भीरतापूर्वक लिन सकिरहेका छैनन् । उनीहरू अझै राजनीतिक शोभा, पार्टीगत हित र सत्ताको खेलमै सीमित देखिन्छन् ।

अब प्रश्न जनप्रतिनिधिलाई हो : तपाईँहरू जनताको साँचो समस्या समाधानमा कहिले सहभागी हुन्छन्? संविधान दिवसमा मात्र होइन, हरेक दिन जनतालाई सुरक्षित र सहज जीवन दिनेतर्फ जिम्मेवारीपूर्वक कहिले उभिनुहुन्छ? यहि छन आम जनताको प्रश्न ।

संविधान दिवसलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी व्यवहारिक गतिविधिमा जोड दिँदै गरिएको यस सरसफाइले यस क्षेत्रका बासिन्दा सुरक्षित महसुस गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित