रतनपुर । बारा जिल्लाको उत्तरी भेग रतनपुर क्षेत्रमा पछिल्लो समय बाघको गतिविधि तीव्र बन्दै गएको छ । गत हप्तामै रतनपुरस्थित पडा र भक्तलाल बस्तीमा बाघले एक गोरु र दुईवटा बाख्रा मारेर लगेको स्थानीयले बताएका छन् । बजार र विद्यालय आवतजावत गर्ने मुख्य सडकमा समेत दिनदहाडै बाघ देखिन थालेपछि स्थानीयवासी त्रासमा परेका छन् ।
यसैगरी जिल्लास्थित जितपुरसिमरा उपमहानगरपालिका–पथलैया र अमलेखगञ्ज क्षेत्रमा समेत हालै तीन जना मान्छेलाई बाघले मारेको समाचार बाहिर आएको छ । यस घटनाले मानव र वन्यजन्तु द्वन्द्व झन थपिएको सरोकारवालाले बताएका छन् ।
रतनपुर क्षेत्रका अभिभावकले बालबालिकाको विद्यालय आवतजावत सुरक्षित नहुने चिन्ता व्यक्त गरेका छन् । “दिनहुँ सडकमै बाघ देखिन्छ, अब खेतबारी वा जंगलतिर जान त साहस नै हुन्न,” एक स्थानीय किसानले भने ।
वन विभागका अधिकारीहरूले चुरे क्षेत्रमा बसोबास स्थल नजिकै बाघको सक्रियता बढ्नु प्राकृतिक वासस्थान सङ्कुचन र खाद्य अभावका कारण भएको प्रारम्भिक अनुमान गरेका छन् । बाघ मानिसतिर आएको भनेको उसको सुरक्षित बासस्थान कमजोर भएको संकेत हो, यसलाई नियन्त्रण गर्न रणनीति बनाउन जरुरी छ ।
स्थानीयले तत्काल डिभिजन वन कार्यालय र सम्बन्धित निकायलाई दबाब दिएर सुरक्षात्मक कदम चाल्न माग गरेका छन् । अन्यथा, बाघको आतंक अझै बढ्ने र जनधनको समेत क्षति दोहोरिने उनीहरूको भनाई रहेको छ ।






















Discussion about this post