निजगढ, बारा । नेपाल पत्रकार महासंघ बारा शाखाका सदस्य बसन्त लामा माथि मंगलबार विहान केही व्यक्तिहरूको समूहले नियोजित ढंगले कुटपिट गरेको घटनाप्रति महासंघ बारा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजगढ नगरपालिका–१ स्थित बनस्थली हाट बजार नजिकै मोटरसाइकलमा आएका व्यक्तिहरूले पत्रकार लामा माथि आक्रमण गरी कुटपिट गर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको उल्लेख गरिएको छ । महासंघले लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ ।
पत्रकारमाथि भएका यस्ता आक्रमण घटनाले सञ्चारमाध्यम असहज बनाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष आघात गर्ने भन्दै महासंघले अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।
“पत्रकार र पत्रकारिताको सुरक्षा गर्दै स्वतन्त्र एवं निर्भीक वातावरणमा काम गर्न सक्ने माहोल बनाउन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले यस्ता घटना रोक्न पत्रकारको सुरक्षालाई प्राथमिकतामा राख्न, दोषीलाई तत्काल कारबाही गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण बनाउन सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।






















Discussion about this post