बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका आजदेखि सेवा प्रवाह पुनः सुरु भएको छ । उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादले आइतबार सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनका क्रममा उपमहानगरपालिका तथा मातहतका केही वडा कार्यालयमा आगजनी हुँदा सेवा स्थगन भएको उल्लेख गरेका छन् ।
सूचनामा भनिएको छ, ‘भदौ २९ गतेदेखि उपमहानगरपालिका तथा मातहतका कार्यालयबाट सम्पूर्ण सेवाहरू (राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बाहेक) सुचारु गराउन तथा सम्पूर्ण विद्यालय र शैक्षिक संस्थामा पठन–पाठन सुरु गराउन सम्बन्धित सबैलाई निर्देश दिइन्छ ।’
आगजनी र क्षतिग्रस्त भएका वडा नं. ११, १२, १३, १४, १५ र १६ का कार्यालयमा भने सम्बन्धित वडा समितिले निर्णय गरेपछि मात्र सेवा पुनः सञ्चालन हुने सूचनामा उल्लेख छ ।
त्यस्तै, कलैया उपमहानगरपालिकाले पनि आजदेखि सेवा पुनः सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जारी गरेको सूचनामा विगत केही दिनदेखि देशको विषम र संवेदनशील परिस्थितिका कारण कार्यालय र मातहतका सेवाहरू स्थगित भएको जानकारी दिइएको छ ।
अब सेवासुविधा सुचारु भएपछि स्थानीय प्रशासनले सामान्य जनजीवन सञ्चालनमा फर्कन सक्ने अवस्था बनेको जनाएको छ ।






















Discussion about this post