बारामा कर्फ्यु आदेश निरन्तरता, सार्वजनिक सेवा बन्द

388
SHARES
510
VIEWS

बारा । बारामा पछिल्ला दिनमा बढ्दो असुरक्षा र अवाञ्छित गतिविधि रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले हिजो विहिवार सार्वजनिक सूचना जारी गर्दै कर्फ्यु आदेश जारी भएको जानकारी दिएका हुन् ।

सूचनाअनुसार, हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट, आगजनी र व्यक्ति लक्षित हिंसात्मक आक्रमण हुन नदिन आदेश जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यु आदेश बिहीबार साँझ ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म लागू हुने भएपनि निषेधाज्ञा निरन्तरता हुने जनाइएको छ ।

यस अवधिमा जिल्लाभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ । तर अत्यावश्यक सेवाका सवारीसाधन जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानव अधिकार संस्था, कूटनीतिक नियोग र हवाई यात्रुका लागि हवाई टिकटका आधारमा मात्र आवागमन गर्न सकिने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचनामार्फत शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सबै सेवा बिहीबारदेखि बन्द हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालयबाट प्रवाह हुने सामान्य सेवा २०८२ भदौ २७ गतेसम्मका लागि रोकिएको स्पष्ट पारेका छन् ।

त्यसैगरी निजगढ नगरपालिकाले पनि आफ्नो कार्यपालिका र मातहतका वडा कार्यालयबाट प्रवाह हुने सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । नगरपालिका कार्यालयले कार्यालयमा भएको भौतिक क्षति, आगजनी र मुलुकमा देखिएको विषम परिस्थितिका कारण दमकल, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित