नेविसंघद्वारा जेन–जी आन्दोलनमा भएको हिंसात्मक गतिविधि र सार्वजनिक सम्पत्ति तोडफोडप्रति आपत्ति

403
SHARES
530
VIEWS

निजगढ । नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यसमिति, निजगढले हालै जेन–जी आन्दोलनको नाममा देशभर फैलिएको हिंसात्मक गतिविधि, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी घटनाप्रति कडा आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्र, राष्ट्रियता र नागरिक अधिकारलाई कमजोर पार्ने गरी भइरहेको हिंसात्मक आन्दोलन तत्काल अन्त्य गर्न माग गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ २३ गते जेन–जीको आह्वानमा गरिएको आन्दोलनका क्रममा राजधानीदेखि विभिन्न जिल्लासम्मका प्रदर्शनमा प्रहरीको गोली लागेर विद्यार्थी, श्रमिक, आम नागरिकसहित २३ जनाको ज्यान गएको र सयौं घाइते भएको घटनाप्रति दु:ख व्यक्त गरिएको छ ।

नेविसंघले कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई नियोजित आपराधिक गतिविधि ठहर गर्दै लोकतान्त्रिक नेतृत्वमाथि यस किसिमको चरम आक्रमण अस्वीकार्य रहेको जनाएको छ । संघले हिंसा र तोडफोडले आन्दोलनलाई झनै बदनाम बनाउने र नागरिकको दैनिक जीवनलाई प्रभावित पार्ने भएकाले सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “आन्दोलनका नाममा पुस्तकालय, संग्रहालय, सरकारी कार्यालय, पुरातात्त्विक सम्पदा, ऐतिहासिक भवन लगायतको तोडफोड र आगजनी हुनु निन्दनीय छ । लोकतान्त्रिक आन्दोलनको मूल आधार नै शान्तिपूर्ण ढंगले आफ्नो आवाज बुलन्द गर्नु हो, हिंसा र अराजकता होइन ।”

नेविसंघले आन्दोलनका क्रममा तोडफोड र हिंसात्मक घटनामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ भने स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण अभिव्यक्तिको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

यससँगै, संघले मुलुकभरका विद्यार्थीलाई शान्तिपूर्ण आन्दोलनमा मात्रै सहभागी हुन आह्वान गर्दै लोकतन्त्रको रक्षा, शैक्षिक सुधार र राष्ट्र निर्माणका लागि संगठित प्रयास गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित