सिंगौल/बारा । निजगढ नगरपालिका–१ स्थित बनस्थली हाट बजार हुँदै रौतहट जिल्ला जोड्ने धनसार खोलाको भालुघाटमा निर्माणाधीन झोलोङ्गे पुल निर्माण ७० प्रतिशतमै रोकिएको छ । झोलोङ्गे पुल निर्माण ७० प्रतिशतमै रोकिएपछि उक्त क्षेत्रका स्थानीयवासी वर्षौंदेखि आवतजावतमा समस्या झेल्नु परेको गुनासो हामी माझ आएको छ ।
उपभोक्ता समितिमार्फत सुरु भएको निर्माण कार्य लामो समयअघि नै सम्पन्न भइसकेको भए पनि बाँकी रहेको स्टील सामग्री (टावर, जाली, प्लेट) खरिद प्रक्रियामा ढिलाइ हुँदा पुल अलपत्र बनेको हो । नगरपालिकाले आवश्यक सामग्रीको टेन्डर प्रक्रिया अघि नबढाउँदा निर्माण थाती रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
एक करोड २७ लाख लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्यले मिति २०७९ सालमा निजगढ नगरपालिका र दातृ संस्था हेल्पट्रान्सबीच सम्झौता भएको थियो । तर दुई वर्ष बितिसक्दा पनि पुल अझै अधूरो छ । निर्माण सम्पन्न गर्न अझै करिब ६०–६२ लाख रुपैयाँ बराबरको स्टील सामग्री आवश्यक रहेको बताइएको छ ।
विद्यार्थी सबैभन्दा ठूलो पीडित
बर्खा लाग्दा धनसार खोला तर्ने अवस्था नरहँदा रौतहटबाट पढ्न आउने विद्यार्थी हप्तौँसम्म विद्यालय आउन सक्दैनन् । शिक्षा अधिकार खोसिएको पीडामा रहेका ती विद्यार्थीको आवाज सुन्न कोही तयार छैन ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरूका अनुसार ८० प्रतिशत विद्यार्थी छिमेकी जिल्ला रौतहट अरुण बस्ती र इपिल घारीलगायत गाउँबाट आउँछन् । पुल अधुरो हुँदा हरेक वर्ष बाढीले उनीहरूको पढाइ अवरुद्ध हुन्छ । तर यो समस्या समाधान गर्ने सोच नगरपालिकाले देखाएको छैन ।
सिंगौल एकमात्र माध्यमिक विद्यालय भए पनि त्यहाँ गरिब र निमुखा वर्गका बालबालिका मात्र अध्ययन गर्ने गरेको छ भने आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी निजगढकै निजी विद्यालय (जस्तै विद्यासागर होली) मा पढाइ गराइरहेका छन् ।
स्थानीयको माग : टेन्डर प्रक्रिया अघि बढाउ
स्थानीयवासीले पटक–पटक नगरपालिका र सरोकारवाला निकायलाई आग्रह गरे पनि टेन्डर प्रक्रिया अघि नबढ्दा पुलबाट आवतजावत गर्ने सपना अधुरै रहेको भन्दै आक्रोश पोखेका छन् ।
नगरपालिकाले अन्य वडामा बजेट विनियोजन गरी विकास योजनाहरू तीव्र रूपमा अघि बढाइरहेको तर ७० प्रतिशत सम्पन्न झोलोङ्गे पुललाई भने संघीय सरकारको व्यवस्थापन नहुँदा रोकिएको नगरपालिकाले जनाएको छ ।






















Discussion about this post