बसन्त लामा/सिगौल । निजगढ नगरपालिका–३, सिंगौलको गुम्बा टोलमा स्थानीयले पालेको पशुचौपायमा लम्की स्किन रोग तीव्र रूपमा फैलिँदै गएको छ । यसले स्थानीय पशुपालक किसानहरुमा ठूलो त्रास उत्पन्न गरेको छ ।
स्थानीय हरि बहादुर लाम्छाने मगर र भक्त बहादुर लाम्छाने मगरका घरमा पालेको गाई र बाछा, बाछीमा यो रोग देखिएको छ । तर प्रकोप केवल गाई, र बाछामा मात्र सीमित नभई भैसीको पाडा, पाडीमा समेत व्यापक रूपमा देखिएको छ । केही समयअघि बिक्रीका लागि ल्याइएको पाडा, भैसी पनि रोगका कारण मरेको स्थानीयले बताएका छन् ।
स्थानीय भक्त बहादुर लाम्छाने मगरका अनुसार, सिंगौल–३ को पिपलटार क्षेत्रका पशुचौपायमा पनि लम्की स्किन रोग देखिएको छ । रोगको फैलावट पशु ओसार, पसार र बाहिरी व्यापारीले ल्याएका पाडा, भैसीमार्फत भएको हुन सक्ने उनिहरुहरूको अनुमान छ ।
धनसार खोला पारि छिम्मेकी जिल्लाको चन्द्रपुर नगरपालिका–३, अरुण बस्ती, पुरानो नर्सरी र भालुखोप इपिल बस्तीमा पनि स्थानीयले पालेको पशुमा उक्त रोग देखिएको छ ।
स्थानीय किसानले गुनासो गरेका छन् कि निजगढ नगरपालिका र पशुशाखाले समयमै रोकथामको खोप नलगाएको कारण हाल पशुमा रोगको प्रकोप बढेको हो । केही समयअघि भने पशुशाखाले बाख्रामा खोप लगाएको भए पनि गाई र भैसीमा भने खोप ढिला गरिएको थियो ।
स्थानीयहरूले आग्रह गरेका छन् कि नगरपालिकाले तत्काल उपाय गर्दै खोप अभियान चलाउनुपर्छ, नत्र ठूलो आर्थिक क्षति र जनताको त्रास बढ्ने खतरा छ ।






















Discussion about this post