निजगढ । श्रम र उत्पादनलाई समाज रूपान्तरणको आधार मान्दै अघि बढिरहेको योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले सोमबार बाराको निजगढमा सरसफाई अभियान सञ्चालन गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसीएलले सुरु गरेको अभियान अन्तर्गत निजगढ नगरपालिका–१, सिंगौलामा स्थानीय बस्ती सरसफाईसँगै सहिद रामवृक्ष यादवको ३१औँ स्मृति दिवस समेत मनाइएको हो ।
कार्यक्रमका सहभागी युवाले बिहानैदेखि सार्वजनिक चोक र सामुदायिक स्थल सफा गरे । त्यसपछि सहिद यादवलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरिएको थियो । माओवादी आन्दोलनका क्रममा जीवन गुमाएका यादवको नाममा आयोजना गरिएको स्मृति कार्यक्रममा वक्ताहरुले उनको बलिदान व्यर्थ नजाने भन्दै सहिदले देखाएको बाटो अनुसरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता वाईसीएल निजगढ नगर अध्यक्ष सुदर्शन थपलियाले गरेका थिए । उनले युवालाई श्रम, उत्पादन र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउन वाईसीएलले सञ्चालन गर्दै आएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रमुख अतिथिमा पार्टी केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज छेत्रबहादुर श्रेष्ठ ‘अनिल’ले सहिद यादवको बलिदानले आजको राजनीतिक परिवर्तनलाई आधार दिएको उल्लेख गर्दै वाईसीएललाई जनतासँग अझ घुलमिल भई सेवामुखी गतिविधिमा लाग्न आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य राजन पौडेल, प्रदेश कमिटीका सदस्य रविराज दंगाल, निजगढ नगर पार्टी कमिटीका अध्यक्ष संतोष दंगाल र बाराका विभिन्न पालिकाका अध्यक्ष तथा नेताहरु, वाईसीएल बारा जिल्ला अध्यक्ष सिकेन्द्र कुशवाहा, जबस मोर्चाका केन्द्रीयदेखि स्थानीय तहका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो ।
स्मृति कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताले सहिद यादवलाई “युवा पुस्तालाई समर्पित क्रान्तिकारी नेता”का रूपमा चित्रित गर्दै यादवको सपना पूरा गर्ने जिम्मेवारी अहिलेको पुस्ताले वहन गर्नुपर्ने धारणा राखे । सहभागीहरुले सहिदलाई सम्झनु मात्र नभई उनले देखाएको बाटोमा आचरण र अभ्यासमार्फत अघि बढ्नु जरुरी भएको बताए ।
आयोजकका अनुसार वाईसीएल अभियानलाई आगामी दिनमा प्रदेशभर फैलाउँदै सामाजिक, वातावरणीय र उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिइनेछ । यो अभियान केन्द्रदेखि स्थानीय तहसम्म देशैभरी संचालन भैइरहेको छ ।




















Discussion about this post