निजगढ । निजगढ नगरपालिकाको रतनपुरस्थित जनस्वास्थ्य सरोकार केन्द्रका अध्यक्ष धनबहादुर खुलालमाथि संस्थाको एम्बुलेन्स सदस्यलाई जानकारी नदिई बिक्री गरी रकम हिनामिना गरेको आरोप लागेको छ । तर, खुलालले ती सबै आरोप असत्य र तथ्यहीन भएको प्रतिक्रिया दिएका छन् ।
आइतबार बिहान निजगढको सगरमाथा सहकारी संस्थाको सभा हलमा पत्रकार सम्मेलन गर्दै संस्थाका सदस्य सुमन भोलनले ६ वर्षदेखि साधारण सभा नगरेको र संस्थाको नाममा दर्ता भएको ना.२ च ३४९३ नम्बरको एम्बुलेन्स कानुनविपरीत बिक्री गरी रकम हिनामिना भएकाले कानुनी कारबाहीको माग गरे ।
भोलनका अनुसार, ०७६ सालमा अध्यक्षमा निर्वाचित भएका खुलालले ०७९ असार ९ गते सो एम्बुलेन्स रौतहटको चन्द्रपुर–६ का प्रेम पहरीलाई ‘गरी खानु’ भनी कपाली तमसुक गरेर जिम्मा लगाएका थिए । तर, खुलालकै मिलेमतोमा पहरीले ०८० मंसिरमा सोही ठाउँकी मञ्जु पहरीलाई ६ लाख रुपैयाँमा बिक्री गरेको कागजात फेला परेको दाबी छ ।
“एम्बुलेन्सको भाडा र बिक्री रकमबारे बारम्बार जानकारी माग्दा पनि खुलालले हिसाब–किताब देखाउन मानेनन्,” भोलनले भने, “बरु एम्बुलेन्स फिर्ता ल्याउने क्रममा गाउँबाट भगाएर चन्द्रपुर लैजान खोज्दा स्थानीयले लच्काबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।”
पत्रकार सम्मेलनमा प्रस्तुत विज्ञप्ताअनुसार, खुलालले गत जेठ १६ गते जिल्ला प्रहरी कार्यालय बारा–कलैयामा एक महिनाभित्र साधारण सभा गर्ने सहमति गरेका थिए । तर, हालसम्म कार्यान्वयन भएको छैन। यसअघि इलाका प्रहरी कार्यालयमा एक साताभित्र सभा बोलाउने सहमतिसमेत पूरा नभएको आरोप लगाइएको छ ।
अध्यक्ष खुलालको प्रतिक्रिया
जनसरोकार स्वास्थ्य केन्द्रका अध्यक्ष धनबहादुर खुलालले आफूविरुद्ध लागेको ‘एम्बुलेन्स बिक्री र संस्थागत अनियमितता’ सम्बन्धी आरोपलाई असत्य भन्दै खण्डन गरेका छन् ।
उनका अनुसार, २०७६ सालमा अध्यक्षमा निर्वाचित भएपछि लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको संस्था र प्रयोगमा नआएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउन उनले ऋणधनसम्म जुटाएका थिए। “संस्थाको हित गर्ने व्यक्तिलाई उल्टै दोष लगाउने प्रवृत्ति बढेको छ,” खुलालले टिप्पणी गरे ।
खुलालका अनुसार, पुनः सञ्चालनमा ल्याए पनि सञ्चालन खर्च, चालकको तलब, इन्धन र मर्मत–सम्भारका लागि रकम अभाव भएपछि समितिका सबै सदस्यको सहमतिमा एम्बुलेन्स चालकलाई नै व्यक्तिगत रूपमा चलाउन जिम्मा दिइएको हो ।
साधारण सभा नगरेको आरोपबारे खुलालले स्पष्टीकरण दिँदै भने, “पहिलो सभामा ५१ प्रतिशतभन्दा कम सदस्य उपस्थित भएकाले बैठक स्थगित भयो। पुनः मिति तोकेर बोलाउँदा पनि बैठक हुन दिइएन ।”
एम्बुलेन्स बिक्रीबारे उनले कुनै सहमति नभएको स्पष्ट पारे। “जिम्मा दिइएको चालकले के गरे थाहा छैन तर एम्बुलेन्स संस्थाको निगरानीमै सुरक्षित छ,” खुलालले भने ।
उनले आफूविरुद्धको आरोप ‘व्यक्तिगत स्वार्थ र संस्थाभित्रको गुटबन्दी’का कारण आएको दाबी गर्दै, “म अध्यक्ष हुँदासम्म संस्थाको सम्पत्ति र उद्देश्यलाई क्षति पुर्याउने कुनै कार्य हुने छैन,” खुलालले भने ।
पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य (दिनेश) भनिने इन्द्रबहादुर भोलोन, एमाले निजगढका नेता जयराम कुवर, नगर कमिटी सदस्य वीरसिंह थिङ, वडा–१२ एमाले अध्यक्ष युवक मोक्तान, सदस्य श्यामबहादुर थिङ र सुब्बा लुङ्वाललगायतको उपस्थिति थियो ।






















Discussion about this post