दिपेन्द्र जयसवाल बारा । साउनको सुरुवातसम्म खेतहरू सुक्खै देखिँदा चिन्तित भएका मधेसका किसानहरू पछिल्ला दिनमा वर्षाले उत्साहित भएका छन्। तीन दिनयता परेको निरन्तरको वर्षाले ढिलो भए पनि मधेस प्रदेशमा धान रोपाइँको गति एक्कासि बढेको छ ।
मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म ६३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ। यसअघि पानी नपरेका कारण साउनको दोस्रो सातासम्म ५० प्रतिशत खेतमै रोपाइँ थालिएको थिएन ।
निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवका अनुसार बारा र पर्सा जिल्लामा रोपाइँ सकिएको छ भने बाँकी जिल्लामा धमाधम रोपाइँ चलिरहेको छ ।
सिंचाइको पर्याप्त सुविधा नपुगेको मधेसमा ६५ प्रतिशतभन्दा बढी खेत अझै आकाशेपानीमा निर्भर छन्। लामो समय पानी नपरेपछि प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहतस्वरूप स्यालो ट्युबबेल वितरण अभियान पनि सञ्चालनमा आएको थियो ।
मधेस प्रदेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। विगत वर्षहरूमा साउनको दोस्रो हप्ता पुग्दा रोपाइँ लगभग सकिइसकेको हुने गर्थ्यो। तर यो वर्ष वर्षा ढिलो हुँदा धान रोपाइँमा निकै ढिलाइ भएको देखिएको हो ।
तराईका खेतमा अहिले किसानहरू बिहानदेखि साँझसम्म धान रोप्न खटिएका छन्। स्थानीय किसान भन्छन्, “अब पानी परेकाले धान रोप्न पाइयो, ढिलो भए पनि खेती गर्न पाउँदा सन्तोष लागेको छ ।”






















Discussion about this post