निजगढ बारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) निजगढ नगर समितिको नेतृत्वमा फुलमाया घलान चयन भएकी छिन् । शुक्रबार सम्पन्न नगरस्तरीय भेलाले घलानको अध्यक्षतामा ७ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहिआएकी घलान तत्कालीन सशस्त्र द्वन्द्वका समय कुलेखानी गाविसको इन्चार्ज र शिखरपुर गाविसको सेकेरेटी जिम्मेवारी सम्हाल्दै माओवादी आन्दोलनमा होमिएकी थिइन् । उनले द्वन्द्वपछिको शान्ति प्रक्रियामा पनि पार्टीका विभिन्न संगठनहरूमार्फत महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छिन ।
निजगढ बसाइँसराइ गरेपछि उनी स्थानीय तहको राजनीतिमा समेत सक्रिय हुँदै हाल निजगढ नगरपालिका कार्यपालिका सदस्यको हैसियतमा रहेकी छिन् । महिला सशक्तीकरणको पक्षमा आवाज उठाउँदै आएकी घलानले नेतृत्व विकास, स्वरोजगार, सीपमूलक तालिमजस्ता अभियानमार्फत महिलालाई आत्मनिर्भर बनाउने काममा लागेकी छिन् ।
“महिलाहरूको सामूहिक शक्ति, क्षमता र नेतृत्व विकासको खाँचो छ,” बैठकपछि अध्यक्षमा चयन भएकी घलानले सामाजिक संजाल फेसबुकमा लेखिन, “संगठन विस्तारसँगै महिलाहरूलाई निर्णय प्रक्रियामा ल्याउने हाम्रो पहिलो प्राथमिकता हुनेछ।” सबैको सहयोग र साथको अपेक्षा रहेको अभिव्यक्तीको भाव उनले लेखेकी छिन ।
भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य देखि जिल्ला र स्थानीय नेता, जनवर्गीय संगठनका प्रतिनिधि तथा नगरभरिबाट प्रतिनिधित्व गर्ने महिला कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिलाई संगठन सुदृढीकरण र महिला सहभागिता अभिवृद्धिका लागि सहभागी पार्टीका नेताहरुले शुभकामना व्यक्त गरिएको थियो ।























Discussion about this post