सिंगौलमा रासायनिक मलको चरम अभाव, केरालगायत बाली खेती गर्ने किसान प्रभावित

401
SHARES
527
VIEWS

बसन्त लामा सिंगौल बारा । निजगढ नगरपालिका सिंगौलका किसानहरू यतिबेला युरिया र डिएपी मलको अभाव झेलिरहेका छन् । वर्षायाममा धान खेती र हिउँदमा हाइब्रिड मकै खेती गर्दै आएका यहाँका किसान अहिले मल नपाएर बिउ रोप्न नपाएका छन् भने रोपिएका बाली मलको अभावमा ओइलिन थालेका छन् ।

कृषि शाखाले १० वर्षअघि केन्द्रमा पठाएको विवरणअनुसार नै अहिले पनि मल आपूर्ति भइरहेकोले मल आपूर्ति यथार्थ आवश्यकता अनुसार हुन नसकेको किसानहरूको गुनासो छ ।

सिंगौलका वडा नं. १, २ र ३ मा करिब ८० प्रतिशत कृषियोग्य जमिनमा केरा खेती हुने गरेको छ । बाँकी २० प्रतिशत क्षेत्रमा मात्र परम्परागत धान खेती र हिउँदमा मकै लगाइन्छ । तर, युरिया र डिएपी मल दुबै अभाव भइरहेका कारण व्यवसायिक खेतीमा गम्भीर असर परेको छ ।

स्थानीय किसान गोरोख राई भन्छन्, “हामीजस्ता साना किसानले हिउँदमा मकै लगाएका छौं, तर युरिया पाइँदैन । सहकारी र वडाअध्यक्षको चलखेलले हामी पछाडि परेका छौं ।”

सहकारी र राजनीतिक चलखेल

सरकारी अनुदानको मल सिंगौल आइपुगे पनि सहकारी संस्था र वडास्तरीय नेताहरूको मिलेमतोमा पार्टी निकट र आफ्ना मान्छेहरूलाई प्राथमिकता दिइने गरेको किसानहरूको आरोप छ ।

तीन दिनअघि मात्र निजगढ नगरपालिकाका लागि आएको ४ सय ८० बोरा युरिया मल अहिलेसम्म वितरण हुन सकेको छैन । अर्कोतर्फ, भारतीय मल किन्नुपर्ने बाध्यता छ र पनि पाईदैन ।

भारतीय मलको रकम त तिर्नुपर्छ, तर प्रहरीले समातिन्छ

सरकारी मल नपाउँदा किसानहरूले चर्को मूल्यमा भारतीय मल खरिद गर्दै आएका छन् । हाल भारतीय युरिया मल प्रतिबोरा १६ सय रुपैयाँमा खरिद गर्नुपर्ने अवस्था छ । तर, त्यही मल ल्याउनेलाई प्रहरीले पक्राउ गर्दै आएको स्थानीयले बताएका छन् ।

सरकारको अनुदान कटौतीले थप चपेटा

नेपाल सरकारले मलमा दिँदै आएको अनुदान गत वर्षको तुलनामा घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, पहिले ७०.८२ प्रतिशत अनुदान दिइन्थ्यो भने अब ५९.०४ प्रतिशतमा झरिसकेको छ । आगामी वर्षमा यो ५० प्रतिशतमा सीमित गरिने मन्त्रालयले जनाएको छ ।

यसको असर स्थानीय किसानमा प्रत्यक्ष परेको छ । अहिले युरिया २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ र पोटास ४० रुपैयाँ प्रतिकिलो दरमा बिक्री भइरहेको छ, जुन गत वर्षको भन्दा धेरै महँगो हो ।

किसान निराश, उत्पादन घट्ने खतरा

कृषकहरू अहिलेको अवस्थामा मल पाउनकै लागि सहकारी, वडाअध्यक्ष र पार्टी नेताको चाकडी गर्न बाध्य छन् । यस्ता अवस्था दोहोरिए किसान खेती गर्नबाट पलायन हुने खतरा बढेको छ ।

“कृषि हेर्ने नेताको भाषण चर्को छ, तर व्यवहारमा किसानलाई मलकै लागि लाइन लाग्नुपर्ने बाध्यता छ,” एक किसानको भनाइ थियो ।

निजगढ नगरपालिका र केन्द्र सरकारले वास्तविक तथ्याङ्कअनुसार मल आपूर्ति गर्न नसकेको, अनुदानमा कटौती गरेको र वितरणमा पारदर्शिता नदेखाएको अवस्थाले गर्दा सिंगौलका किसानहरू थप मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित