निजगढ । राजनीतिक नेतृत्वको मूल मर्म भनेको सत्ता होइन, सेवा हो । यही सोचलाई आधार बनाएर एक युवाले समाज रूपान्तरणको यात्रामा पाइला चालेका छन् । उनको नाम हो, रविराज दंगाल ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिकाको उपमेयर पदका लागि उम्मेदवार बनेका दंगाल झिनो मतान्तरले पराजित भए । तर पराजयलाई उनले अन्त्य नभएर सुरुआतको रूपमा लिए । ‘पद गुमे पनि प्रतिबद्धता गुमाउनु हुन्न,’ भन्ने मूल मन्त्रमा बाँधिएर उनी समाजमा सक्रिय भए ।
उपमेयर पद नभए पनि जनताको साथमा
पद हुँदा मात्रै सेवा गर्न सकिन्छ भन्ने मान्यता तोडेर दंगाल जनताको घर–घरमा पुगे । उनले चुनावी मञ्चमा गरेका वाचा बिर्सिएनन्, बरु कार्यान्वयनका पाइलाहरू अगाडि बढाए । निजगढ–७ को सिचाइ समस्या होस् या निजगढका विभिन्न स्थान डिओअ बोरीङ्ग सिंचाइ र विद्यालय सुधार फास्ट ट्र्याक निर्माण अभियान, दंगालको पहलकदमीले धेरै कामहरू अगाडि बढे ।
“उपमेयरको हैसियतमा नभए पनि जनताको हैसियतमा म जनताको बीचमा छु,” उनी भन्छन्, “म राजनीति परिवर्तनका लागि होइन, समाज परिवर्तनका लागि आएको हुँ ।”
समाजसेवाको जरो गाउँमै
रविराजको समाजसेवा कुनै नारा होइन, उनले व्यहोरिरहेको जीवनशैली हो । निजगढका विभिन्न टोलहरूमा खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका मुद्दामा उनले खेलेको भूमिकाले स्थानीय बासिन्दा प्रभावित भएका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ७ का एक वृद्ध भन्छन् “उहाँ चुनाव जित्नु भएन,” एक स्थानीय वृद्धा बताउँछन्, “तर जितेभन्दा बढी काम उहाँले गर्नु भयो ।” स्थानीय वृद्धले भने ।
राजनीति र विवेकको संगम
नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश कमिटी सदस्यको रूपमा दंगालले नीति निर्माण तहमा पनि मधेसका सवालहरू उठाउने अवसर पाएका छन् । तर उनी कार्यभन्दा प्रचारमा विश्वास गर्दैनन् । “राजनीति जनताको मन जित्ने कला हो, केवल कुर्सी कब्जा गर्ने होइन,” दंगाल दोहोर्याउँछन् ।
अग्रिम पंक्तिमा युवाको नेतृत्व
रविराज दंगाल जस्ता युवा नेतृत्वको उदयले स्थानीय राजनीतिमा नयाँ ऊर्जा थपेको छ । पराजित भएर पनि समाज रूपान्तरणमा अग्रसर रहनु आफैंमा उदाहरणीय हो ।
उनको यात्रा अझै बाँकी छ । आशा गरौं, राजनीतिलाई सेवा र इमानको पथमा लम्काउने यस्ता युवाहरूले भविष्यमा समाजलाई अझै समुन्नत बनाउने छन् ।























Discussion about this post