निजगढ । निजगढ नगरपालिका–११ मा निर्माणाधीन तथा सम्पन्न योजनाहरूको स्थलगत अनुगमन गरिएको छ । वडाध्यक्ष सहाइया गुरोको नेतृत्वमा वडासदस्य मनमाया श्रेष्ठ, पर्शुराम श्रेष्ठ र प्रेमबहादुर बस्नेतसहितको टोलीले विभिन्न योजनास्थलमा पुगेर अनुगमन गरेको हो ।
स्थानीय पूर्वाधार निर्माणमा पारदर्शिता र गुणस्तर कायम रहोस् भन्ने उद्देश्यसहित अनुगमन गरिएको वडाध्यक्ष गुरोले बताए । ‘निर्माणको गुणस्तरमा सम्झौता हुँदैन,’ उनले भने, ‘विकासमा पारदर्शिता र जनसहभागिता अनिवार्य छ ।’
वडाले चालु आर्थिक वर्षमा सडक मर्मत, ढल निकास, खानेपानी, नाला तथा अन्य पूर्वाधार विकासका योजनाहरू सञ्चालनमा ल्याएको छ। ती योजनाको कार्यप्रगति मूल्याङ्कन गर्न टोली परिचालित गरिएको हो ।
अनुगमनका क्रममा निर्माणाधीन योजनामा देखिएका प्राविधिक त्रुटिहरू तत्काल सुधार गर्न ठेकेदारलाई निर्देशन दिइएको वडाले जनाएको छ । वडासदस्यहरूले विकास योजनामा नागरिकको प्रत्यक्ष निगरानी र सहभागिता बढाउँदै कामलाई अझ प्रभावकारी बनाइने बताएका छन् ।
नियमित अनुगमन र प्रत्यक्ष सहभागिताले विकासको गति र गुणस्तर दुवैमा सुधार आउने विश्वास वडाको छ । अब निर्माण मात्रै होइन, त्यसको जीवन अवधि पनि नापिन थालेको छ ।























Discussion about this post