दिपेन्द्र जयसवाल/बारा । मधेश प्रदेश सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेको भोलिपल्टै प्रसौनी गाउँपालिकाले पनि आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको छ ।
सोमबार आयोजित विशेष गाउँसभा कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवालले आगामी वर्षका लागि जम्मा ४१ करोड १ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । अध्यक्ष जयसवालले आर्थिक वर्ष २०८२/०८३ लाई “व्यवस्थित पूर्वाधार, समावेशी विकास र पारदर्शी प्रशासन” को नारासहित अघि बढाउने प्रतिबद्धता जनाउदै सो बजेट सार्वजनिक गरेका हुन ।
उनका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, रोजगार र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरिएको छ । अध्यक्ष जयसवालले “जनताले सरकारलाई टोलमै महसुस गर्न सकून् भन्ने उद्देश्यले सन्तुलित विकास कार्यक्रम लागू गरिनेछ,” भन्दै बजेटको केन्द्रीय ध्येय स्पष्ट पारे ।
गाउँसभा कार्यक्रममा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसाद, लेखा अधिकृत प्रेम बाबु पटेल, वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्ष तथा सदस्य, गाउँ कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी, सञ्चारकर्मी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए।
गाउँपालिकाले बजेटमार्फत आधारभूत सेवा प्रवाहको सुधार र समावेशी विकासलाई तीव्रता दिने जनाउँदै स्थानीयस्तरमै परिणाममुखी योजना कार्यान्वयन गरिने जनाएको छ।






















Discussion about this post