बारा । निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोष अन्तर्गत दलित महिलाहरूलाई कानुनी जानकारी प्रदान गर्न उद्देश्यसहित चारदिने “क्षमता विकास अभिमुखिकरण कार्यक्रम” सुरु भएको छ । आज शनिबार जेठ ३१ गतेबाट सुरु भएको यो अभिमुखिकरण कार्यक्रम ४ दिनसम्म चल्नेछ । अभिमुखिकरण तालीम निजगढ-४ बाघभैरव सामुदायिक वन समुहको सभाहलमा संचालन भैइरको छ ।
कार्यक्रमको आयोजना फास्ट ट्र्याक मिडिया प्रा.लि. ले गरेको हो भने निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक सहयोग रहेको छ । कार्यक्रममा कानुन, अधिकार, विभेद विरुद्धको कानुनी सुरक्षा, घरेलु हिंसा, सम्पत्ति अधिकार लगायतका विषयमा सहभागी महिलाहरुलाई जानकारी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
दलित समुदायभित्रका महिलाहरू सामाजिक, आर्थिक र कानुनी दृष्टिले अझै पनि पछाडि पारिएका छन् भन्ने यथार्थलाई सम्बोधन गर्दै, यो अभिमुखिकरण कार्यक्रम उनीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विस्तार र कानुनी पहुँच सुनिश्चितताका लागि लक्षित गरिएको हो ।
फास्ट ट्र्याक मिडिया प्रा.लि. का प्रतिनिधि तथा आयोजकका अनुसार, “महिलाहरूलाई कानुनी सवालमा सजग र सक्षम बनाउन यो कार्यक्रम केवल एक जानकारीमूलक गतिविधि होइन, उनीहरूलाई आवाज दिन खोजिएको अभियान हो ।”
कार्यक्रममा फरक नेपाल, रेडियो मध्य तराइ र मधेश प्रवाह अनलाइन र साप्ताहिक पत्रिका जस्ता सञ्चारमाध्यमको सहकार्य रहेको छ । प्रशिक्षकहरूले अन्तरक्रियामूलक विधिबाट महिलाहरूलाई कानुनी सवालमा व्यवहारिक ज्ञान दिनेछन् ।
सहभागी महिलाहरूले अभिमुखिकरण कार्यक्रमलाई उपयोगी, जानकारीमूलक र सशक्तिकरणतर्फको महत्वपूर्ण प्रयासका रूपमा लिएका छन् । कार्यक्रमका अन्तिम दिन सहभागीहरूलाई अभ्यास र प्रमाणपत्र वितरण गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
यो कार्यक्रमले महिलालाई केवल कानुनी ज्ञान दिने मात्र नभई, उनीहरूलाई समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउने आयोजकले अपेक्षा गरिएको छ । कार्यक्रम फास्ट ट्र्याक मिडियाका संचालक महेश्वर अधिकारीको अध्यक्षतामा भएका थिए भने प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा रहेका थिए ।
त्यसतैगरि कार्यक्रम उदघाटनको अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष विशन सापकोटा, छुवाछूत तथा भेदभाव अनुगमन समितिकी संयोजक तथा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य अरुणा विक, कार्यपालिका सदस्य मिना चौरेल, छुवाछूत तथा भेदभाव अनुगमन समितिका सदस्य इन्द्र विक, पुर्व जनप्रतिनिधि जयराम कुमर, महेशी कुमर, पुर्व भुमिआयोकका विज्ञ सदस्य केदार गौतम र सामाजसेवी बेनिबहादुर मोक्तानले कानुनी व्यवस्था सम्बन्धि महत्वपूर्ण मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रमको संचालन भने कार्यक्रमका संयोजक तथा संचारकर्मी उमेश घलानले गरेका थिए । त्यस्तै कार्यक्रम संचालनमा सहजीकरण रेडियो मध्य तराइका व्यवस्थापक पवन सिंहले गरेका थिए ।






















Discussion about this post