हजार समस्याको एक समाधान : निजगढ-१ सिगौलको स्वास्थ्य शिविर

401
SHARES
527
VIEWS

बसन्त लामा, सिगौल । शनिबार बिहानैदेखि वडाको कार्यालय परिसरमा चहलपहल बढ्न थाल्यो । विश्व रक्तदान दिवसको सन्दर्भ पारेर आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरका लागि स्थानीयहरू पालैपालो लाइनमा उभिएका थिए-कोही आँखाको परीक्षण गर्न, कोही रक्तचाप जाँच गराउन, कोही नशा वा हाडजोर्नीको समस्या लिएर ।

बाराको निजगढ नगरपालिका वडा नम्बर १ को वडा कार्यालय र निजगढ प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा आयोजित यस शिविरमा एकै स्थानमा बहु–विषयगत स्वास्थ्य सेवा उपलब्ध थियो । बिहान ९ बजे सुरु भएको शिविर दिउँसो ३ बजे सम्पन्न भयो ।

पिसाव परीक्षण ४६ जनाले, ब्लड प्रेसर १४० जनाले, आँखाको परीक्षण १३३ जनाले, र मानसिक स्वास्थ्य परीक्षण २२ जनाले गराएका थिए । आँखाको जाँच गराएकामध्ये १६ जनामा मोतियाबिन्दुको समस्या देखिएको जानकारी आँखाविशेषज्ञ डा. गजेन्द्र महतोले दिए ।

शिविरमा ल्याब परीक्षण अनिल कुमार चौधरी र सम्झना चौधरीले गरेका थिए भने, हाडजोर्नी तथा नशासम्बन्धी सेवा डा. दीपेन्द्र यादव र मानसिक स्वास्थ्य सेवा डा. चन्दन चौधरीले सम्हाले । स्वास्थ्यकर्मीहरू व्यस्त थिए, तर सेवाग्राहीहरू सन्तुष्ट देखिन्थे ।

शिविरमा सहभागी हुनेहरूको मात्र भीड थिएन, समाजका विविध क्षेत्रबाट पनि सहयोगी हातहरू पुगेका थिए । त्यस्तै सामाजिक संस्था युथ अफ निजगढ, स्थानीय राजनीतिक दल, महिला समूह, सामाजिक अभियन्ता, युवा क्लब र निर्वाचित जनप्रतिनिधिहरूले स्वयंसेवकको भूमिका निर्वाह गरे । कार्यक्रमको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी सिगौलले सुरक्षाकर्मीहरुलाई खटिएको प्रहरी टोलीले समेत व्यवस्थापनमा सघायो ।

वडाध्यक्ष मगले लोप्चन स्वास्थ्य शिविर सफल बनाउन सक्रियता देखाएकामा सन्तुष्टि व्यक्त गर्दै भन्छन्, “यो केवल एकदिने शिविर थिएन, स्थानीय सरकार र समुदायबीचको विश्वास निर्माणतर्फको यात्राको एउटा कदम हो ।”

सामान्य उपचार र स्वास्थ्य परीक्षणका लागि टाढासम्म जानुपर्ने बाध्यता रहेको यो क्षेत्रमा यस्तो बहुआयामिक स्वास्थ्य शिविरको आयोजनाले नजिकै सेवा उपलब्ध हुँदा स्थानीयहरू हर्षित देखिन्थे । अझ रमाइलो त के थियो भने-सेवाको केन्द्रमा सरकार मात्र थिएन, समुदाय आफैँ सहभागी थियो ।

निजगढ–१ को सिगौलमा गरिएको यो स्वास्थ्य शिविर केवल औपचारिक कार्यक्रम नभई स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यको ज्वलन्त नमूना बनिदियो । यस्तो सहकार्य र सहभागिता कायम रहने हो भने, आगामी दिनमा स्वास्थ्य पहुँचमा उल्लेखनीय सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित