बारा । पत्रकारिताबाट सार्वजनिक जीवनको थालनी गरेका अशेष ढुङ्गाना अब प्रेस सेन्टर नेपाल मधेस प्रदेशको अनुशासन सम्हाल्ने भूमिकामा उभिएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अनुशासन विभागमा उनलाई मधेस प्रदेश संयोजकको जिम्मेवारी दिएको छ ।
बाराको कोल्हवी नगरपालिका–९ निवासी ढुङ्गना पत्रकारिता क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय छन् । उनले सञ्चालन गरेको कोल्हवी न्युज अहिले मधेस क्षेत्रमा स्थापित अनलाइनमध्ये पर्छ । स्थानीय मुद्दामा कलम चलाउँदै आएका ढुङ्गनाले प्रेस सेन्टरमार्फत राजनीतिक सक्रियता पनि बढाउँदै ल्याएका छन् ।
उनलाई अनुशासन विभागको संयोजकमा नियुक्त गर्ने निर्णय शनिबार बसेको मधेस प्रदेश नवनिर्वाचित पहिलो बैठकले गरेको हो । ढुङ्गनाको संयोजक नियुक्तिसँगै प्रेस सेन्टरले संगठनभित्रको अनुशासन सुदृढ गर्ने लक्ष्य लिएको छ ।
“यो जिम्मेवारी केवल पद होइन, उत्तरदायित्व हो,” संयोजक बनेपछि ढुङ्गनाले भने, “ प्रेस सेन्टरभित्र अनुशासन र आन्तरिक मर्यादाको सुदृढीकरण मेरो पहिलो प्राथमिकता हुनेछ ।”
स्थानीय तहदेखि केन्द्रसम्मको संगठनमा अनुशासन कायम गर्न प्रेस सेन्टरको अनुशासन विभाग गठन गरिएको थियो । उक्त विभागमार्फत अनुशासनहीन गतिविधिको अनुगमन, मूल्यांकन र सुधारका उपाय तय गरिन्छ ।
ढुङ्गनाको राजनीतिक, पत्रकारीता र सामाजिक गतिविधि अब नयाँ चरणमा प्रवेश गरेको छ । पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्दै आएका उनी अब पार्टी निकट सेन्टरभित्रको अनुशासनिक व्यवस्थापनको नेतृत्व सम्हाल्दैछन् ।
उनको नयाँ भूमिकालाई कतिपयले चुनौतीको रूपमा पनि हेरेका छन् । मधेसजस्तो संवेदनशील क्षेत्रमा संगठनात्मक अनुशासन कायम गर्नु सजिलो काम होइन । तर, ढुङ्गनाले जिम्मेवारीप्रति प्रतिबद्धता जनाएका छन् ।
“चुनौती जहाँ छन्, त्यही अवसर पनि छन्,” उनी भन्छन्, “संगठन सुदृढीकरणका लागि म निरन्तर लागिरहनेछु ।”






















Discussion about this post