बिजेन्द्रकुमार चौधरी/प्रसौनी । कलैया उपमहानगरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना केन्द्रमा कुटपिटका कारण मृत्यु भएका धीरेन्द्र उर्फ प्रदीपप्रसाद मण्डलको घटनामा केन्द्रका सञ्चालक साहेबबाबु मन्सुर धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाराका न्यायाधीश कोमल प्रसाद आचार्यको इजलासले मन्सुरलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी कृष्णकुमार साहले मधेश प्रवाहलाई जानकारी दिए । गत फागुन १३ गते घटेको घटनापछि फरार रहेका मन्सुर झन्डै दुई महिनापछि बिहीबार अदालतमा उपस्थित भएका थिए । मन्सुरमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता भएको थियो । घटनामा मुख्य आरोपीका रूपमा रहेका मन्सुरका भाइ साहिल अली, सुरज साह र राहुल साह भने अझै फरार रहेका छन् । यसै प्रकरणमा पक्राउ परेका ७ जनामध्ये अरू ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यसअघि फागुन २८ गते पुनःस्थापना केन्द्र सञ्चालक परिवारका सदस्य २९ वर्षीय तमन्ना मन्सुर २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । मृतक मण्डल कलैया उपमहानगरपालिका–९ रामपुरका ३७ वर्षीय बासिन्दा थिए । पुनःस्थापना केन्द्रमा भर्ना भएको दुई साता नबित्दै अनुशासन भंग गरेको आरोपमा उनलाई शारीरिक सजाय दिन खोजिएको थियो । तर, मण्डलले नमानेपछि केन्द्रका परामर्शदाता र अन्य व्यक्तिहरूले कुटपिट गरेका थिए । कुटपिटको क्रममा उनको ज्यान गएका हुन ।






















Discussion about this post