बारा । आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । बाराको निजगढ नगरपालिकाले ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा विभिन्न राजनीतिक दल, सामाजिक तथा अगुवाइहरु र निर्वाचित जनप्रतिनिधिहरु संग अन्तरक्रिया गरेको छ ।
संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष निजगढ नगरपालिकाले जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न नागरिक अगुवाइ र ग्रामीण स्तरमा बसोबासीलाई समेटेर एक कार्यक्रमको आयोजना गरेका थिए ।
जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै भावी संविधानमा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने अधिकारकर्मीहरुको माग रहेकोछ ।
छुवाछूत अन्त्यका लागि कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत अधिकारकर्मीहरुले जोड दिएका छन् । नेपाललाई वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।
तर व्यवहारमा भने समाजको ठुलो तप्का यस्तो भेदभाव र बहिष्कारबाट प्रताडित छ । नेपालमा पछिल्लो जनगणनाअनुसार दलितको जनसङ्ख्या १५ प्रतिशत छ । पुनःस्थापित संसद् २०६३ सालमा नेपाललाई छुवाछुतमुक्त घोषणा गरे पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन ।
जातीय भेदभावपूर्ण सोचकै कारण अहिले पनि दर्जनौँको ज्यान जाने क्रम छ भने सर्वसाधारण अमानवीय व्यवहारको सिकार बन्न बाध्य छन् ।
नेपालको संविधान ०७२ ले छुवाछुत विरुद्धको हक र दलितको हक गरी दुई वटा मौलिक हकको व्यवस्था गरे पनि व्यवहारमा भने न ती मौलिक हकहरूको कार्यान्वयन भएको छ, न त ती सम्बन्धित कानुनहरू नै बनेका छन् ।
कार्यक्रममा निजगढ नगरपालिकाका राजनीतिक दल, जनप्रतिनीधिहरु, सञ्चारकर्मीहरु र दलित समुदायलाई प्रतिनिधित्व गर्ने दलित संघ/संगठनका प्रतिनीधिहरुविच अन्तर्क्रियात्मक कार्यक्रम भएको हो ।
नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पूर्व जनप्रतिनीधिहरु, राजनैतिक दलका प्रतिनीधिहरु, स्थानीय स्तरमा जातीय विभेद तथा छूवाछुत अनुगमन समितिका पदाधिकारुहरु, नेपाल उत्पिडित जातीय मुक्ति समाज निजगढ नगर कमिटि अध्यक्ष, दलित मुक्ति मोर्चा निजगढ नगर कमिटि अध्यक्ष वा प्रतिनीधि, विभिन्न संघ/संस्थाका प्रमुख वा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख पुरीले निजगढ नगरक्षेत्रमा जातीय विभेदको अन्त्य गरि विकास प्रक्रियामा सबैको सार्थक पँहुच र सहभागिता हुन यस्ता कार्यक्रम आयोजना गरिएको बताए । नगर प्रमुख पुरीले संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन महासन्धी पारित गरि नेपालले समेत अनुमोदन गरिसकेको तथा संविधान र कानुनमा समेत व्यवस्था भई सकेको कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताए ।
उपस्थित बक्ताहरुले अव समाजमा जरो गाडेर बसेको यो प्रथालाई उन्मुलन गर्न सबै जुट्नुपर्ने र यस्तो कार्यक्रमलाई अझ सुदृण गर्दै बृहत सहभागिता वनाउनुपर्ने कुरामा जोड दिएका थिए ।























Discussion about this post