बिजेन्द्र कुमार चौधरी/बारा । बाराको कलैया–१ बैंक रोडमा रहेको नवजन्म पुनःस्थापना केन्द्रमा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र भन्ने प्रदीप्रसाद मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेका पुनःस्थापना केन्द्र सञ्चालक परिवारका सदस्य २९ वर्षीय तमन्ना मंसुर २ लाख ५० हजार धरौटीमा रिहा भएका छन । सोही आरोपमा पक्राउ परेका अन्य ६ जना भने कारागार चलान भएका छन । जिल्ला अदालत बाराका १ नम्बर इजलासका न्यायाधीश कोमलप्रसाद आचार्यले मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेका ७ जनामध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने निणर्य गरेको अदालतका स्रेस्तेदार लालबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार कलैया–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा २ का २१ वर्षीय परमेश्वर साह, ३ का १९ वर्षीय सरफराज मंसुरी, वडा ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं. ६ का २० वर्षीय महम्मद आँसु मियाँ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । तमन्नाका दाजु साहेबबाबु मंसुर (केन्द्र सञ्चालक)सहित अर्का एक जनामाथिसमेत मुद्दा रहेकोले दुबै जना फरार छन् । अन्य ६ जना अभियुक्तमाथि २० वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ । सुधार केन्द्रमा भर्ना भएका कलैया– ९ का ३७ वर्षीय प्रदीप्रसाद मण्डलले सजाय अस्वीकार गरेपछि केन्द्रका परामर्शदातासहितले कुटपिट गर्दा गत महिना उनको मृत्यु भएको थियो । सुधार केन्द्र काठमाडौंमा दर्ता भई शाखाको रुपमा विस्तार गरी सञ्चालन गरिएको थियो । उक्त सुधार केन्द्रबारे बारा निर्वाचन क्षेत्र–१ का सांसद अच्युतप्रसाद मैनालीले सुधार केन्द्रको अनुगमन र नियमनको अवस्थाबारे संघीय संसद्मा आवाज उठाएपछि र जिल्लामा केन्द्र सञ्चालकसहितलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने आवाज उठेको थियो । जिल्ला प्रशासन कार्यालय प्रशासन फाँटका प्रमुख रत्न स्याङतानकाअनुसार जिल्लामा ८ वटा सुधार केन्द्र सञ्चालनमा भए पनि एउटामात्र दर्ता र अरु ७ वटा शाखा विस्तार गरी सञ्चालन गरिएको छ । कलैया र जीतपुरसिमरा उपमहानगरमा ३/३ वटा र निजगढ नगरपालिकमा २ वटा गरी ८ वटा सञ्चालनमा छन् । संसद्मा आवाज उठेपछि स्थानीय प्रशासन र प्रहरीले सरकारको निर्देशनमा सुधार केन्द्रको नियमन र अनुगमन कडाइ गरिएको छ ।






















Discussion about this post