बारा । बाराको दक्षिण सीमावर्ती सुवर्ण गाउँपालिकामा भ्रष्टाचार र आर्थिक अनियमितताका घटना सार्वजनिक हुन थालेको छ । गाउँपालिकामा लक्षित वर्गको योजना (तालिम कार्यक्रम) मा जनप्रतिनिधि र कर्मचारीले ४० प्रतिशतसम्म कमिसन लिएर रकम बाँडफाँड गर्ने गरेको घटना बाहिरिएका हुन । गाउँपालिकाको पालिका र वडा स्तरीय लक्षित वर्गको कार्यक्रम गर्ने संस्थाहरुले ४० प्रतिशातसम्म अग्रिम कमिशन बुझाउने गरेको पालिकाका कर्मचारीहरुले नै बताएका छन । उक्त पालिकामा ‘श्रम विकास नेपाल कलैया– ६ बारा’ नाम गरेको एउटै गैरसरकारी संस्थाले विभिन्न वडामा कार्यक्रम गरेको पाइएको छ । आर्थिक वर्ष ०८१/०८२ को लक्षित वर्गको कार्यक्रम संचालन गरेर गैरसरकारी संस्थाले कागज मिलाएर पालिकाको रकम स्वाहा पारेको श्रोतको दाबी छ । गाउँपालिकाले हरेक वर्ष लक्षित वर्गतर्फको कार्यक्रममा करोडौं रकम खर्च गर्दैआएको र सोको उपलब्धी भने शून्य देखिएको स्थानीले बताएका छन । सुवर्ण गाउँपालिकाको अध्यक्ष राजेशप्रसाद यादव, निमित प्रमुख प्रशासकीय अधिकृत सुजित यादव र सामाजिक विकास शाखा प्रमुख शिवरतन साहले वडा स्तरीय योजनाहरुबाट ४० प्रतिशतसम्म रकम असुल्ने गरेको स्रोतको दाबी छ । विभिन्न वडाका अध्यक्षहरुले पनि ३० देखि ४० प्रतिशातसम्म लक्षित वर्गको कार्यक्रममा कमिशन लिएर कार्य सम्पन्नको सिफारिस दिने गरेको कर्मचारीहरुको भनाई छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ टेढाकट्टी रुपौलिया महिला विकास संस्थाले समेत पालिकाका महिला र किशोरीहरुको लागि महिला हिंसा विरुद्धको तालिम र किशोरीहरुकोलागि प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक तालिमको संचालन गरेको छ । त्यसैगरी आमा सुधार कार्यक्रम महिला तत्मा समाज सेवा केन्द्र महागढीमाई २ लाई दिइएको छ भने यसैगरी साईबर अपराध तथा लागू औषध सम्बन्धि कार्यक्रम समेत कमिशनको भरमा बाँडिएको छ । कार्यक्रम संचालन गर्दा सहभागीको संख्या नपुगेको वडामा फर्जी सहभागीको नाम राखेर अनियमित तरिकाले भुक्तानीको बिल भरपाई समेत नक्कली पेश गर्ने गरिएको बताइन्छ । कार्यक्रम संचालन गर्नु अघि गोप्य सूचना प्रकाशित गर्ने र ती पत्रिका बजारमै नल्याई लुकाएर राख्ने गरिएको समेत स्थानीयले बताएका छन । गाउँपालिका अध्यक्ष यादवले भने कमिशनको आरोप गलत रहेको बताए ।






















Discussion about this post