उमेश घलान/बारा । रौतहटको गरुडा नगरपालिका २ स्थित शिवनगरमा रहेको महादेव मन्दिरमा भक्तजनहरु ठूलो भुईचो लागेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा रौतहटको प्रसिद्ध शिवनगर महादेव मन्दिर दर्शन गर्न आएका वृद्धवृद्धा, अशक्त, अपांगता भएका व्यक्ति र महिला तथा बालबालिकाहरुले समेत दर्शन गर्ने मौका पाएको हो । वुधबार बिहानै देखि दर्शन गर्न आउने भक्तजनहरुको रहेको थियो ।
मन्दिरको लाइन व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरीले वृद्धवृद्धा र अशक्तता भएकाहरूलाई छुट्टै लाइनको व्यवस्था नगरे पनि यो वर्ष सबैले दर्शन गर्ने अवसर जुरेको छ । गत बर्षमा व्यवस्थापन नहुदा टाढा-टाढाबाट आएका भक्तजन यत्तिकै फर्किनुपरेको थियो भने यस वर्ष सामन्य रुपमा दर्शन पाएको एक भक्तजनले बताए ।
उक्त महादेव मन्दिरमा रौतहटको विभिन्न भागका साथै सर्लाही, बारा र भारतको विभिन्न भागबाट आएका हजारौँ दर्शनार्थीहरुले महादेवको पूजा अर्चना गरेका छन् । त्यस्तैगरी मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज चौथो दिन मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
मौलापुरको पतौराधाममा नेपाल र भारतका चर्चित कलाकारहरुको जमघटले लाखौंको भिड देखिएको छ । नेपाल र भारतका दर्शनार्थीहरु शिवमन्दिरमा दर्शन गर्न पुग्नुका साथै उनीहरुले आयोजित मधानी विशेष सांस्कृतिक कार्यक्रम समेत हेर्न पुगेका थिए ।
महायज्ञलाई विश्वव्यापी बनाउँने कलाकारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–भारतका चर्चित कलाकार पतौराधाममा पुगेपछि ओर्लिएको जनसागरलाई व्यवस्थित गर्न प्रहरी र स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो । सांस्कृतिक कार्यक्रम सुरु हुनुभन्दा अघि ति कलाकारहरुले शिवमन्दिरमा दर्शन गरेका थिए ।
भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुती रहेको आम सांस्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष विजय यादव निर्विजले मधेश प्रवाहलाई जानकारी दिए ।
त्यस्तै मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), गौरभनारायण राई (नोपाली गायक), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहेको छ ।
मौलापुर नगरपालिकाको आयोजनामा भईरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । ११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा/साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
१२ गते भगवान शिवको बरात यात्रा निकालेका थिए भने १३ गते शिवमन्दिरमा विशेष पुजा र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रमसंगै महाधानी महोत्सव सम्पन्न हुदैछ ।
मधानी महायज्ञमा नेपाल सहित भारतका दर्शनार्थीहरुको भिड लागेको छ । यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने मौलापुर नगरपालिकाकि प्रमुख रीनाकुमारी साहको विश्वास छ । “मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ”, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले भनिन् । प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छिन् । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो र प्रगढ बनाउँने विश्वास उनले व्यक्त गरिन् ।
मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म बिभिन्न कार्यक्रम सहित सम्पन्न हुनेछ ।























Discussion about this post