बारा । बारा जिल्लाको निजगढस्थित बकैया खोलाबाट अवैध रूपमा निकालिएको र निजगढ नगरपालिका–४ कछडिया बस्ती आसपासमा थुपारिएको अवस्थामा जफत गरिएको ढुङ्गाको ठेक्का अहिलेसम्म लागेको छैन ।
नगरपालिकाले विद्युतीय बोलपत्रमार्फत ३० दिने सूचना जारी गरे पनि आइतबार टेन्डर खोल्दा कुनै पनि इच्छुक कम्पनीले ढुङ्गा निकासीका लागि आवेदन नदिएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ । नगरपालिकाले जफत गरेको ६ लाख ७ हजार ७ सय ३२.८९ घन मिटर (२३ लाख ८९ हजार ६ सय १६.७० क्यूफिट) ढुङ्गाका लागि मूल्य अभिवृद्धि करसहित २ करोड १६ लाख २ हजार १ सय ३६ रुपैयाँको टेन्डर आह्वान गरेको थियो । तर, कुनै पनि ठेकेदार वा कम्पनीले टेन्डर नहालेपछि जफत गरिएको ढुङ्गाको व्यवस्थापन अन्योलमा परेको छ । स्थानीय स्रोतका अनुसार, अवैध रूपमा उत्खनन गरिएका ढुङ्गालाई कानुनी प्रक्रियाविनै वैध बनाउँदै ठेकेदारमार्फत निकासी गर्ने प्रयास भइरहेको थियो । विवाद उत्पन्न भएपछि नगरपालिकाले ढुङ्गा जफत गरी टेन्डर आह्वान गर्न बाध्य भएको हो । स्रोतका अनुसार, जफत गरिएको ढुङ्गामध्ये १२ हजार घन मिटर (एक हजार भन्दा बढी टिपर) ढुङ्गा निजगढ नगरपालिका र स्थानीय प्रहरी प्रशासनको संरक्षणमा घाटगड्डी हुँदै अवैध रूपमा निकासी गरिएको छ ।






















Discussion about this post