बारा । निजगढ नगरपालिकाले निजगढ प्राथमिक स्वास्थ्य केन्द्रलाई २४सैं घण्टा संचालनमा ल्याउनेभएको छ । नगरको सर्वाङ्गिण विकासको लागि मंगलबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय भेलाले आवश्यक जनशक्तिको प्रबन्ध मिलाएर प्राथमिक स्वास्थ्य केन्द्रबाट २४सैं घण्टा सेवा उपलब्ध गराउने निजगढ नगर अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको हो । बैठकले निजगढ ९ स्थित समुदायमा आधारित प्रसुती गृह र प्राथमिक स्वास्थ्य केन्द्रको सेवा समेत जोडेर एकिकृत रुपमा संचालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न भएको छलफलबाट अटो तथा ट्याम्पुको पार्किङ्ग र ठेलाको व्यवस्थापनको लागि नगर कार्यपालिकाको बैठकबाट निर्णय गरी निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको दक्षिणतर्फ रहेको ७ कठ्ठा जग्गा भाडामा लिनको लागि आवश्यक प्रक्रिया शुरु भइसकेको र सो कार्यलाई अगाडि बढाउनको लागि विद्यालयसंग सर्वपक्षीय पहल गर्ने निर्णय गरेको छ । बैठकमा निजगढ नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण र उपयोगको लागि निजगढ नगरपालिकाले त्यस्ता सबै जग्गाहरुको अभिलेख तयार गर्ने र सोको संरक्षण तथा उपयोगको लागि आवश्यक तयारी गर्नुको साथै बकैया पुल दक्षिणतर्फको दुई बिगाह चार कठ्ठा जग्गाको सम्बन्धमा सर्वोच्च अदालतबाट निर्णय भइसकेकोले सो जग्गा संरक्षण तथा उपयोगको लागि नगरपालिकाले कार्ययोजना बनाई आवश्यक संरचनाहरु क्रमश निर्माण गर्दै जाने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए । निजगढ नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी कार्यलाई व्यवस्थित गर्नको लागि अदालतमा मुद्दा परेको विषयमा जानकारी भएकोले निजगढ नगरपालिकाले सो मुद्दा सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने र उक्त पदार्थको उत्खनन् तथा संकलनलाई व्यवस्थापन गर्न सर्वदलीय सर्वपक्षीय अनुगमन गरि थप व्यवस्थित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जानकारी दिए । त्यसैगरी निजगढ नगरपालिका क्षेत्रमा बधशाला निर्माणको आवश्यकता बारेमा विगतदेखि नै माग भएको र सो सम्बन्धमा बस्तीरहित उपयुक्त स्थानमा बधशाला निर्माणको लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा पनि बैठकले निर्णय गरेको छ । नगर प्रमुख पुरीको कार्यकक्षमा सोमवार दिउसो र मंगलवार बिहान भएको छलफल कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, पुर्वनगर प्रमुख सुरेशकुमार खनाल, नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा एमालेका नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दंगाल, राष्टिय स्वतन्त्र पार्टीका जिल्ला सचिव रामहरी खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष खड्कप्रसाद उप्रेती, नेकपा समाजवादीका नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टीका नगर अध्यक्ष मोजहर मन्सुर, साविक निजगढ गाबिसका अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिकाप्रसाद चौलागाई, पुर्व वडा अध्यक्ष टेकबहादुर लामा, सुदर्शन बडाल, नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकी, माओवादी नेता रविराज दंगाल, राप्रपा नेतृ सावित्री भारतीलगायतको सहभागिता रहेको थियो ।


















Discussion about this post