बारा । जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो । महाशाखाका अनुसार मधेसको बारा, पर्सा, रौतहट, सप्तरी र कोशीको झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा चलेको शीतलहर आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ । पानी परेजस्तै आकाशबाट लगातार तपतप चुहिने शीतलाई शीतलहर भनिन्छ । जाडोयाममा तराई मधेशमा शीतलहरका घटना बारम्बार हुने गरेको छ । शीतलहरबाट प्रभावित हुने ठाउँमा बसोवास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विशेष ख्याल राख्न आवश्यक छ । यस समयमा सकेसम्म घरबाहिर निस्किन उचित नहुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने तथा वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । महाशाखाले हिजौ बिहान साढे ९ बजे शीतलहर विशेष बुलेटिन निकालेर कोशी, मधेश र लुम्बिनी प्रदेशअन्तर्गतका तराई मधेश क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको थियो । यसैबीच विगत ४ दिनयता बढेको अत्याधिक चिसो र शितलहरका कारण बाराको निजगढसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवारदेखि एकाएक चलेको चिसो हावा र गए रातिदेखिको शितको वर्षाले मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो । मधेसको उत्तरी क्षेत्रमा दिउसो केही बेर घाम लाग्ने गरेको भएपनि अधिकांश क्षेत्रमा विगत तीन दिनदेखि घाम देखिएको छैन । जारी शितलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।























Discussion about this post