बारा । निजगढ नगरपालिका वडा नम्बर १२ का ज्येष्ठ नागरिक र असक्त नागरिकलाई सिरक, ब्लाङ्केट र थर्मस वितरण गरिएको छ ।
वडाको वार्षिक बजेटबाटै जाँडो मौसमलाई मध्यनजर गर्दै न्यानो असिरक, ब्लङ्केट र थर्मस खरिद गरी उनीहरूलाई वितरण गरिएको वडाध्यक्ष ज्ञानबहादुर लामाले बताए । सिरकलगायतका सामग्री पाउनेमा ७५ वर्ष कटेका ज्येष्ठ नागरिक तथा शारीरिक, मानसिक अपांगता भएका व्यक्तिहरु रहेका छन् ।
पुस २२ गतेदेखि चिसो उत्कर्षतर्फ गइरहेको र यसले ज्येष्ठ नागरिक र असक्तहरूलाई गाह्रो पार्ने भएकाले वडा कार्यालयकै बजेटबाट सो सामग्री वितरण गररिएको वडाध्यक्ष लामाको भनाइ छ । बढ्दो चिसोले ज्येष्ठ नागरिक, शारीरिक रूपमा असक्त र वृद्धवृद्धा जाडोले कठ्यांग्रिन थालेको पाएपछि वडा कार्यालयले सामग्री वितरण गरिएको अध्यक्ष लामाले बताए ।
चिसोले उनीहरूको कष्टकर दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर फाइबरको सिरक ब्लङ्केट र पिउने पानी तातो बनाई राख्ने थर्मस वितरण गरिएको वडा सचीव अरुण कुमार बस्नेतले बताए । वडा सचीव बस्नेतका अनुसार वडाले तोकेको मापदण्डअनुसार ८० जना वडाका लक्षित वर्गलाई सिरक ब्लङ्केट र थर्मस वितरण गरिएको छ । लक्षित वर्ग लाभान्वित होऊन् भनेर मापदण्ड बनाएर सो सामग्री वितरण गरिएको हो ।
पछिल्लो समय चिसो बढ्दै गएपछि सिरकलगायतका सामग्री बाँडेको वडाले जनाएको छ । वडाको रामथलीस्थित वडा कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रम विच सो सामग्री वितरण गरिएको थियो ।
Discussion about this post