बारा । बारा निजगढ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक निजगढमा प्रथम निजगढ महोत्सव हुने भएको छ ।
आगामी माघ ११ गतेदेखि २२ गतेसम्म निजगढ-८ खायर घारीको खेलमैदान फूटबल चौरमा महोत्सव आयोजना गरिने निजगढ उद्योग संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
शनिबार संघको सभा हालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले स्थापना भएपछिको यो पहिलोपट्क उद्योग संघले महोत्सव आयोजना गर्न लागिएको बताए। उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताए ।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ ।
महोत्सवले निजगढका केरा तरकारी र उखुलगायत कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको काठमाडौ द्रुतमार्ग फास्ट्र्याक र पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष श्रेष्ठले बताए ।
निजगढमा रहेका विभिन्न मठमन्दिर र पर्वत महादेव, मोहोरी, शिवशक्ति, निजगढ भिउ टावर्लगयतको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने उनले बताए । महोत्सवमा विशेषगरि पर्यटनलाई प्राथमिकता दिइएको छ ।
महोत्सबले निजगढलाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानीय स्तरको कृषि, उद्यम, कला, संस्कृति, पर्यटन, खेलकुदको प्रवर्द्धन हुने संघको अपेक्षा रहेको छ । महोत्सवमा स्थानीयस्तरका विभिन्न समुदायको खानाको परिकारलाई प्रबर्द्धन गर्न करिव १ सय ५० वटा स्टल राखिने जनाएको छ । जसमध्ये स्थानीय परिकार, कृषि तथा हस्तकलाका सामाग्रीहरुको बजार प्रवर्द्धन गर्न चाहने स्थानीयलाई करिब २० बटा स्टल निःशुल्क प्रदान गरिने संघले तयारी गरेको छ ।
महोत्सवमा बालबालिकाका लागि बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ । १२ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई पनि प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य संघले राखेको छ । महोत्सवको मूल उद्देश्य निजगढलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुऱ्याउनु रहेको छ । सो पत्रकार सम्मेलनमा संघका पदाधिकारहरुको सहभागी रहेका थिए ।
Discussion about this post