बारा । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपालले बीमितले पाउने बोनस लगायतको सुविधा थप्न माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । संघका अनुसार बीमितले प्राप्त गर्ने वास्तविक बोनस दर ४० रुपैयाँमा झरेकाले बीमित ठगिने अवस्था आउन नदिन आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भएको हो ।
संघका अध्यक्ष नरबहादुर घर्ती र सचिव अमन श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै कम्पनीको बोनस दर वृद्धि र बीमालेख नम्बर ३३३ र ३४२ को साबिकको सुविधा र बीमाशुल्क दर कायम राख्न माग गरेका हुन् । माग पूरा नभए आइतबारदेखि देशैभरका शाखा कार्यालयमा तालाबन्दी गर्दै बीमालेख बिक्री ठप्प पार्ने चेतावनी समेत सङ्घले दिएको छ । पहिलेकै बोनस दर पुनः कायम नगरेसम्म आन्दोलन जारी रहने पनि सङ्घले जनाएको हो ।
सङ्घले जारी गरेको विज्ञप्तिअनुसार बीमा योजना नम्बर ३३३ र ३४२ लाई परिमार्जन गर्दा साबिकको बीमाशुल्क दरमा ०.५ देखि ५ प्रतिशत सम्म मात्र बीमाशुल्क दर वृद्धि हुने आश्वासन दिएकोमा नयाँ जारी बीमा योजना नम्बर ३६५ मा १२ प्रतिशतले बीमाशुल्क वृद्धि गरिएको भन्दै सङ्घले आपत्ती जनाए । संघका अनुसार कम्पनीले साबिक ३३३ र ३४२ नम्बरको बीमा योजना बन्द गरी महँगो बीमाशुल्क दरको बीमालेख प्रचलनमा ल्याएको हो ।
साबिकको दुई बीमालेखमा अतिरिक्त सुविधा दुर्घटना मृत्यु लाभ र बीमाशुल्क छुट सुविधा समेतको बीमाशुल्कमा एकमुष्ठ २ प्रतिशत छुट दिँदै आएकोमा अहिले छुट हटाइएको भन्दै छुटलाई निरन्तरता दिन सङ्घले माग गरेको छ। संघका अनुसार अन्य कम्पनीभन्दा कमजोर बोनस दर र महँगो बीमाशुल्कका कारण अभिकर्ताले बीमालेख बिक्री गर्न कठिनाइ हुने जनाए ।






















Discussion about this post