बारा । बारा जिल्लाको निजगढ नगर कार्यपालिकामा अधिकृत छैठौं तहमा कार्यरत रविन घिमिरे र कार्यालयका सूचना प्रविधि अधिकृत प्रमोद न्यौपानेको विदाइमा निजगढ नगरपालिकाले बुधवार ‘फेरि भेटौला’ कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिका कार्यालयमा ५ वर्षदेखि काम गर्दैआएका घिमिरेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडामा पदस्थापन भएपछि कार्यालयले विदाई कार्यक्रमको आयोजना गरेको हो । बागमती प्रदेश निजामती सेवा अन्तर्गत – अधिकृत सातौं तहको परीक्षा उर्तीण गरेपछि घिमिरेको हालै मन्त्रिपरिषद कार्यालय हेटौडामा पदस्थापना भएको थियो ।
इमान्दार र स्वच्छ छविका अधिकृत घिमिरे निजगढमा कुशल राष्ट्रसेवक कर्मचारीको रुपमा चिनिन्थ्यो । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका घिमिरेले अधिकृत छौठौं स्थानीय सरकारी सेवामार्फत निजगढ नगरपालिकावाट सेवा शुरु गरेका थिए ।
त्यसैगरी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा प्रस्थान हुन लागेका अर्का अधिकृत न्यौपानेको पनि सोही कार्यक्रममा बिदाई गरिएको थियो ।
निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका अधिकृत न्यौपानेले निजगढ नगरपालिकामा ४ वर्ष सेवा गरिसकेको छ । कार्यक्रममा निजगढ नगर कार्यपालिकाको कार्यालयको तर्फबाट अधिकृत घिमिरे र न्यौपानेलाई नगर प्रमुख सुरथ पुरीले मायाको चिनो पनि प्रदान गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख पुरीसहित उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, वडा अध्यक्षहरु, कार्यालयका कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post