बारा/सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा हरिओमप्रसाद जयसवालले बुधवारवाट प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेको छ ।
अधिकृत जयसवालले सिम्रौनगढ नगरपालिकामा योसहित पाँचौ पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको हो । नगरपालिकामा दरबन्दीअनुसारको कर्मचारी नआएपछि, स्वास्थ्य शाखा छैठौ तहमा कार्यरत जयसवालले सिम्रौनगढमा पटक/पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएको छ । जयसवालले पूर्वनगर प्रमुख विजयशंकर यादवको कार्यकालमा २ पटक र हालका नगर प्रमुख किशोरीप्रसाद कलवारको कार्यकालमा ३ पटक गरी ५ पटकसम्म प्रशासकीय अधिकृतको रुपमा काम गर्ने मौका पाएको हो।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि नगरपालिका कार्यालय २ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन थियो । सेवाग्राहीसँग बिल भुक्तानी गरिदिने भन्दै नगद रकम घुस लिएको आरोपमा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कलैयावाट नियन्त्रणमा लिएको थियो ।
कार्यभार ग्रहणपछि बोल्दै अधिकृत जयसवालले आफ्नो लक्ष्यअनुसार ऐतिहासिक, पर्यटकीय एवंम धार्मिकस्थल सिम्रौनगढको सौन्दर्यकरण, भौतिक संरचना निर्माण, यतायात र सडक व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्ने बताए । उनले सिम्रौनगढ क्षेत्रको पुरातात्विक, ललितकला र वास्तुकलाको संरक्षण गरि यस क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकको आकर्षण बुद्धि गरेर नगरको पहिचान अभिवृद्धिको काम गर्ने पनि बताए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियम र कानुनले दिएको अधिकार प्रयोग गरी आफूले भ्याएसम्म नगरको विकास र उन्नतिको लागि इमान्दारिताका साथ काम गर्ने पनि उनको भनाई रहेका थिए ।
सो अवसरमा सिम्रौनगढ नगर प्रमुख किशोरीप्रसाद कलबारलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत जयसवालले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए ।
Discussion about this post