बारा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा हुने उपनिर्वाचनकालागी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका छन ।
२०७९ वैशाखमा भएको स्थानीय तहका निर्वाचनबाट वडा अध्यक्षमा विजयी नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाएको छ । कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटीलाई बडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी चुनावी अभियानमा जुटिसकेको छ । माओवादीले भने रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेको पार्टी प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु) ले जानकारी दिए ।
राप्रपा र नेकपा एसले पनि बडा अध्यक्ष उम्मेदवार चयनको तयारीमा लागेका छन् । यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । माओवादीलाई गुमेको बडा अध्यक्ष फिर्ता गर्ने चुनौति छ । एमाले र कांग्रेसलाई नयाँ वडामा विजयको झण्डा गाड्ने चुनौती रहेको छ । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएका थिए । प्रतिस्पर्धी कांग्रेसका तिवारीले १ हजार ३ सय ४० मत र एमालेका नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।
Discussion about this post