- उमेश घलान/बारा । बारा जिल्लाको निजगढ नगरपालिकाकाले दिपावली र छठ पर्वमा प्लाष्टिकजन्य फूल र माला प्रयोग नगर्न नगरबासीसंग आग्रह गरेको छ । प्लाष्टिकजन्य फूल वा फूल र मालाको उत्पादन, विक्री वितरण र प्रयोगमा नेपाल सरकारले प्रतिवन्ध लगाएको र यसवाट वातावरण प्रदुषण र मानव स्वास्थ्यमा समेत प्रतिकुल असर हुने भएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अजय बर्तोलाले मंगलवार एक सूचनामार्फत यसको सामग्रीको प्रयोग नगर्न निजगढ नगरवासी सर्वसाधारणसंग आग्रह गरेको हो । सूचनामा स्थानीय रुपमा उत्पादित सयपत्री र मखमली फूलको प्रयोग गर्न पनि भनिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बर्तोलाले हस्ताक्षर गरेर जारी गरिएको सूचनामा अगाडि भनिएको छ, (‘प्लाष्टिकजन्य फूल तथा सरसजावटका सामग्रीको प्रयोगले वातावरणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले निजगढ नगरपालिकाको क्षेत्रमा स्थानीय स्तरमा उत्पादन भएका सयपत्री, मखमली लगायतका फूलहरुको प्रयोग गरी आउँदै गरेको चाड तिहार तथा छठलाई हर्षोल्लासका साथ मनाउन हुन आग्रह गरिन्छ ।’ भनी लेखिएको छ ।
अधिकृत बतौलाले नेपाल सरकारले पनि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, विक्री वितरण र प्रयोगमासमेत रोक लगाउने निर्णय गरेकोले यसको प्रयोग गैरकानुनी कार्य भएको समेत जनाएको छ ।
“नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५(१) द्वारा प्रदत्त अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना बमोजिम प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन
आयात, विक्री वितरण एवंम भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेकोले नेपालीहरुको महान चाड तिहार तथा छठ पर्वमा प्लाष्टिकजन्य फूलका मालाहरु तथा घर सरसजावटका सामाग्रीहरुको प्रयोग नगर्न/नगराउन हुन जानकारीको लागि अनुरोध छ ।” सूचनामा भनिएको छ । अधिकृत बर्तौलाले आउदै गरेको दिपावली र छठ पर्व हर्षोल्सासका साथ मनाउन पनि निजगढ नगरबासीसंग आग्रह गरेको छ ।






















Discussion about this post