बारा/महेन्द्र सहनी । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरभित्रका सामुदायिक विद्यालयमा विज्ञान संकाय पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने नीति ल्याएको छ ।
नगर प्रमुख राजन पौडेलले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटेको सो कार्यक्रमबाट उपमहानगरभित्र विज्ञान संकाय सञ्चालन गरेका दुई विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।
उपमहानगरको वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा ४० जना र वडा नम्बर ५ मा रहेको नेरामावि बकुलियामा २० जना विद्यार्थी भर्ना हुने गरेका छन् ।
उपमहानगरपालिकाले विज्ञान संकायमा पढ्ने कक्षा ११ का विद्यार्थीलाई पुर्ण छात्रवृत्ति उपलब्ध गराउन आर्थिक वर्ष २०८१/०८२ को बजेटमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले उपलब्ध गराउने अनुदान रकमबाट ६० विद्यार्थीले अध्ययन गर्नसक्ने नेरामावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्यले बताए । स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि ल्याइएको सो नीति सकारात्मक रहे पनि यसको प्रभावकारी कार्यान्वयन र निरन्तरताका लागि उपमहानगरले ध्यान दिनुपर्ने प्रधानाध्यापक आचार्यको भनाई छ ।
त्यस्तै पहिलोपटक उपमहानगरपालिकाले एमफिल तथा पिएचडी छात्रवृत्ति कार्यक्रम पनि संचालन गर्ने भएको छ । जसका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी वर्षहरुमा यो रकम वृद्धि गर्दै जाने योजना बनाइएको नगर प्रमुख राजन पौडेलले बताए ।





















Discussion about this post