बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले बुधवार किसानहरुले प्रयोग गर्दैआएको कृषि मिटरको महशुल भुक्तानीबापत जल उपभोक्ता समूहहरुलाई ५ लाख रुपैया प्रदान गरेको छ । किसानहरुले गत फागुन महिनादेखि प्रयोग गर्दैआएको सिँचाई बोरिङ्गको महशुल र बोरिङ्ग मर्मत खर्चबापत जल उपभोक्ता समूहका पदाधिकारीहरुलाई सो रकम प्रदान गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिए । आफ्नो वडाका किसानहरुले प्रयोग गर्दैआएको सिँचाई बोरिङ्ग मिटरको महशुल रकम भुक्तानी गर्ने वडा नम्बर ९ निजगढ नगरपालिकामा पहिलो वडा कार्यालय हो । निजगढको सुख्खा क्षेत्र मानिने वडा नम्बर ९ मा किसानहरु पछिल्लो समय सिँचाईको लागि बोरिङ्गतर्फ आकर्षित बनेका हुन । वडाका करिव ४ सयभन्दा बढी किसानहरुले समूहमार्फत विभिन्न स्थानमा जडान गरिएका ५ वटा बोरिङ्गमार्फत भूमिगत सिँचाई सुविधा लिदैआएका छन । वडाभित्र थप एउटा बोरिङ्ग संचालनको तयारीमा रहेको वडा अध्यक्ष कटुवालले बताए । ती बोरिङ्गबाट ३ देखि ६ इन्चसम्मको पानी आउने गरेको छ । सिँचाई अभावमा उखु खेती गर्ने यस क्षेत्रका किसानहरु सुविधा प्राप्त भएपछि अहिले केरा, धान बाली र तरकारी खेती गर्न थालेका छन । निजगढ नगरपालिका कार्यालय र भूमिगत जल सिँचाई आयोजना कार्यालयको सहयोगमा बोरिङ्ग संचालनमा आएपछि बाली लगाउन सजिलो र उत्पादन पनि वृद्धि भएको किसानहरुले बताएका छन । ‘खेतमा बोरिङ्ग गाढेपछि सिँचाईको असुविधा अन्त्य भएको छ, स्थानीय किसानले भने, अझ वडा कार्यालयले बिजुली मिटरको शुल्कसमेत भुक्तानी गरिदिदा किसानलाई ठूलो राहत मिलेको छ ।’ स्थानीय किसानहरूका अनुसार यसअघि बोरिङ्गको पानी प्रयोग गर्दा किसानले प्रतिघण्टा ३ सय ५० रुपैया तिर्ने गरेका थिए । अब बिजुली खपतको पैसा वडा कार्यालयले तिर्ने र किसानले बोरिङ्गको मर्मतसम्हार र हेरालु खर्चमात्रै बेहोरे पुग्ने पनि किसानहरूले सुनाए । बिजुली मिटरको रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कटुवालसहित वडा समितिका सदस्य चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनुवार, जल उपभोक्ता समितिका पदाधिकारी र स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।





















Discussion about this post