बारा । जीतपुरस्थित शिवपार्वती हलमा आयोजना गरिएको नगरसभा बिथोल्न सोमबार बिहानदेखि एमाले वडाध्यक्ष, वडा सदस्यहरू तयारी अवस्थामा थिए । करिब २ बजे नगरप्रमुख राजन पौडेल नगरसभा हलमा प्रवेश गर्नासाथ केही वडाध्यक्षले अराजक शैलीमा कुर्सी, टेबल तोडफोड गरेर नगरप्रमुखमाथि अपशब्द प्रयोग गरेका थिए ।
चालु आर्थिक वर्षमा २ करोडसम्म बजेट खेलाएका केही वडाध्यक्ष अगामी आर्थिक वर्षको बजेट ५० लाखमा झारेपछि विरोधमा उत्रिएका हुन् । वडामा विनियोजन भएको ठुलो रकम उपलब्धिहीन टुक्रे काममा खर्च भएको भन्दै नगरप्रमुख पौडेलले वडाको बजेट कटौती गरेका थिए ।
तर विरोध उत्रिएका एमाले वडाध्यक्षहरूले बहुमतको कदर नगरी एकलौटी ढंगले कानुनी बाटो टेकेर नगरसभा पास गर्न खोजेको आरोप लगाएका छन् ।
जीतपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारीले २७ जना नगरसभा सदस्यको हाजिर गराएर नगरसभा सञ्चालन गर्न खोजेको आरोप लगाए । ‘तपाईंले छलकपट ढंगले उपस्थित गराएको उपस्थिति माइन्युटलाई च्यातेर अर्कोपटक फेरि नगरसभा गर्नुपर्छ,’ उपप्रमुख अधिकारीले भने, ‘चोरबाटोबाट आउनु भयो भने सधैँ यही रुप देख्नुहुन्छ ।’
नगरसभाको तेस्रो बैठकमा केही वडाध्यक्ष र वडासदस्यले कुर्सी, टेबल तोडफोड गर्दा प्रहरी भने मुकदर्शक बनेर बसेको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरन्जिवी दाहालको नेतृत्वमा खटिएको प्रहरी मुकदर्शक बनेर बसेको थियो ।
नगरप्रमुख पौडेलले नगरसभामा प्रहरीको तुलनामा नगरप्रहरीको भूमिका राम्रो भएको बताए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले तोडफोडमा संग्लन जनप्रतिनिधिलाई अनुसनधन गरेर कारबाही गर्ने बताएका छन् । ‘यस्तो अराजक होला भन्ने हामीलाई पनि अनुमान भएन । अब घटनामा को को संग्लन छन्, मुचुल्का उठाएर कारबाही प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।





















Discussion about this post